लगानी कोषको कार्यालय उद्घाटन
सुर्खेत: नागरिक लगानी कोषले सुर्खेतमा शाखा स्थापना गरेको छ । कर्णाली प्रदेशका सेवाग्राहीहरूलाई लक्षित गरेर स्थापना गरिएको शाखाको सोमवार प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री शर्माले कर्णालीमा लगानी गर्न कोषलाई आह्वान गरे । ‘प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णालीले लगानी नहुँदा त्यसबाट लाभ लिन सकेको छैन’ उनले भने, ‘कर्णालीमा लगानी गर्न आउनुहोस् प्रदेश सरकार तपाईंहरूको साथमा छ ।’ वित्तीय संस्थाहरूको लगानी सहर र निश्चित घरानामा मात्रै केन्द्रित भएको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी गरी समृद्ध कर्णाली निर्माणको अभियानमा हातेमालो गर्न आग्रह गरेका छन् ।
कोषले सर्वसाधारण, विभिन्न संगठीत संघ–संस्थामा कार्यरत कर्मचारी–कामदार तथा संस्थाहरूबाट बचत संकलन गरी बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रबन्ध गर्दै आएको छ । तर कर्णालीमा भने हालसम्म लगानी गरेको छैन । अब कर्णाली प्रदेश सरकार र स्थानीय सरकारहरूले राम्रो प्रतिफलयुक्त योजनाहरू ल्याए लगानी गर्न तयार रहेको कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए । ‘हामी कम्तिमा पनि कर्णालीका जनताको बचत यहीँ लगानी होस् भन्ने चाहान्छौँ’ उनले थपे, ‘त्यतिमात्रै होइन राम्रा योजना प्रदेश र स्थानीय सरकारले ल्याउँछन् भने त्यसमा लगानी गर्न कोष तयार छ ।’
कोषका अध्यक्ष प्राध्यापक डा. सूर्यबहादुर थापाले संघ, प्रदेश र स्थानीय सरकारसँग मिलेर परियोजनाहरूमा लगानी गर्ने उद्देश्य रहेको बताए । कर्णाली प्रदेशमा लगानी सुरक्षित हुने तथा प्रतिफल दिने खालका योजनामा हातेमालो गर्न आफूहरू इच्छुक रहेको अध्यक्ष थापाले बताए । सुर्खेतमा स्थापना गरिएको कोषको शाखा कार्यालयबाट परिचयपत्र तथा परिचयपत्र नम्बर वितरण गर्ने, फाँटवारी संकलन तथा ईन्ट्री, लेखा प्रणाली प्रदान गर्ने, हिसाब मिलान गर्ने, ऋण सापटी प्रदान तथा फिर्ता गर्ने, अवकासपछिको अन्तिम भुक्तानी लगायतका सेवाहरू दिइने शाखा प्रमुख प्रविन राईले जानकारी दिए ।
साथै आगामी आर्थिक वर्ष २०८०/०८१ देखि आवास कर्जा, सरल कर्जा र जग्गा खरिद कर्जाको सेवासमेत प्रदान गर्ने योजना रहेको शाखा प्रमुख राईले जनाए । शाखा कार्यालय गत माघमा स्थापना गरिएको भएपनि सोमवार औपचारिक रूपमा उद्घाटन गरिएको हो । प्रदेश राजधानीमै कार्यालय स्थापना भएपछि सेवाग्राहीहरू पनि आकर्षित भएका छन् । शाखा प्रमुख राइका अनुसार हाल दैनिक ४–५ जना सेवाग्राहीहरूले कार्यालयबाट सेवा लिइरहेका छन् । कोषमा आवद्धता बढाउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
यससँगै देशभर कोषका पाँच वटा शाखा कार्यालय पुगेका छन् । यसअघि कोशी प्रदेशको बिराटनगर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र सुदुरपश्चिम प्रदेशको अत्तरीया कैलालीमा कोषले आफ्ना शाखा कार्यालय स्थापना गरिसकेको थियो । चाँडै अर्काे एउटा शाखा थप्ने योजनामा रहेको जनाइएको छ ।
साझा बिसौनी ।