नीति तथा कार्यक्रम पारित

सुर्खेत: कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीवार सभाबाट बहुमतले नीति–कार्यक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रम संशोधनको प्रस्ताव भने अस्वीकृत भएको छ । नेकपा (एमाले) ले तीन वटा संशोधन प्रस्ताव सभामा पेस गरेको थियो । विनोदकुमार शाह, टेकराज पछाई र जीतबहादुर मल्लले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरूले दर्ता गराएका संशोधन प्रस्ताव बिहीवारको बैठकमा बहुमतले अस्वीकृत भएको छ ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रम कुनै राजनीतिक दस्ताबेज नभएर कर्णालीका जनताको सपना भएको बताए । सरकारले नाफा कमाउने र व्यापार गर्ने उद्देश्यले नभइ कर्णाली समृद्धिको लागि नीति तथा कार्यक्रम ल्याएको उनले बताए । नीति तथा कार्यक्रममा कर्णालीका सबै विषय समेटिएको उनको दाबी छ । कर्णालीका नागरिकको आवश्यकता र चाहाना अनुरूप नै नीति तथा कार्यक्रम आएको भन्दै मुख्यमन्त्री शर्माले सबैको चित्त बुझाउन नसकिने बताए । जनयुद्ध शब्द समावेश गरिएको विषयमा आएको सवाललाई उनले संघीय सरकारले दिएको स्थानका आधारमा शब्द समेटिएको स्पष्ट पारे ।

जवाफ दिने क्रममा शर्माले कर्णालीमा आन्तरिक उडान भर्ने गरी जहाजको व्यवस्थापन गर्ने तयारी गरिएको जनाए । संघीय सरकारले जहाज उपलब्ध नगराए कर्णाली सरकारले आन्तरिक रूपमा नै जहाज खरिद गरेर कर्णालीभित्र उडान भर्ने प्रतिबद्धता उनले जनाएका हुन् । आफूहरूको माग सम्बोधन भएन भने साझेदारीमा सहकार्य गरेर एउटा प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने तयारीमा कर्णाली सरकार लागिपर्ने शर्माको भनाइ छ । दश हजार नागरिकलाई रोजगारी दिनेगरी ठोस योजना बनाएर अघि बढेको समेत उनले बताए । नागरिकमा उत्साह थप्नेगरी नीति तथा कार्यक्रम आएकाले कार्यन्वयनमा जोड दिइने मुख्यमन्त्री शर्माको भनाइ छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०८०, शुक्रबार ०५:०२