कस्तो आउँदैछ कर्णालीको नीति–कार्यक्रम ?

पञ्चवर्षीय योजना कार्यान्वयनलाई प्राथमिकता

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ । आज (आइतवार) बस्ने प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले तय गरेको नीति तथा कार्यक्रम पेस हुँदैछ । सरकारकोतर्फबाट प्रदेश प्रमुख तिलक परियारले कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेशको विकासका लागि सरकारको दृष्टिकोण र आगामी बजेटको मार्गचित्र नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल गरेर नीति–कार्यक्रम तयार गरिएको हो । आगामी बजेटको स्वरूप नीति तथा कार्यक्रममा प्रस्तुत हुने सरकारी प्रतिनिधिहरू बताउँछन् ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले संवैधानिक व्यवस्थाअनुसार नै नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुन लागेको जनाए । उनका अनुसार कृषि, रोजगार, उत्पादन र विषयगत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको छ । कर्णाली प्रदेशको भूगोललाई ध्यानमा राखेर सन्तुलित, न्यायोचित र समविकासबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको जिसीले जनाए ।

नीति तथा कार्यक्रमले पञ्चवर्षीय योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मन्त्रि जिसी भन्छन्, ‘वार्षिक रूपमा आउने नीति तथा कार्यक्रमले पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्नका लागि सहयोग गर्छ । कुन प्रकृतिको कस्तो मोडेलको कार्यक्रम ल्याउने भन्ने विषयमा विभिन्न छलफलसमेत भएका छन् । त्यसैका आधारमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।’ उनले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमले प्रदेशको आगामी बजेटको रूपरेखा देखाउने समेत जनाए । नीति तथा कार्यक्रमको उद्देश्य अनुरूप प्रदेशको बजेट विनियोजन हुनेछ ।

सरकारले बजेटमा समेट्न सकिने योजनाहरूकै आधारमा नीति तथा कार्यक्रम तयार पारेको हो । यसका लागि प्रदेश सरकारले विभिन्न क्षेत्रमा लामो समयसम्म काम गरेका विषयगत विज्ञ, सम्बन्धित क्षेत्रका सरोकारवाला, स्थानीय विज्ञ, सबै क्षेत्रसँग छलफल गरी नीति तथा कार्यक्रम तयार गरेको प्रवक्ता जिसीले बताए । उनका अनुसार नीति तथा कार्यक्रम प्रदेश सरकारले राखेका लक्ष्य पूरा गर्ने खालका हुनेछन् । कर्णाली प्रदेश सरकारले दश हजारलाई प्रत्येक वर्ष रोजगारी दिने लक्ष्य राखेको छ । सरकारले बहुवर्षिय, दायित्व सिर्जना भएका, पूर्वाधारका कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

यसपटक बजेटको आकार घट्ने भएपछि सरकारले नीति तथा कार्यक्रमलाई पनि थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरेको जनाइएको छ । मन्त्रालयहरूले बजेटको आकार घट्ने भएपछि स–साना कार्यक्रमलाई कटौती समेत गरेका छन् । विश्वभरी परेको कमजोर अर्थतन्त्रको असर आगामी आर्थिक वर्ष २०८०÷८१ को कर्णालीको बजेटमा समेत परेको छ । सीमित बजेटमा रहेर सरकारको नीति तथा कार्यक्रम तयार पारिएको छ । गतवर्षको तुलनामा प्रदेशमा बजेटसमेत घटेर आउने भएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानीसमेत न्यून छ । संघीय सरकारले प्रदेशलाई दिने अनुदान यसपटक कटौती भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघबाट प्राप्त हुने अनुदान घटेपछि कर्णाली प्रदेश सरकारको आगामी बजेटको आकार पनि घट्ने भएको छ । त्यसैले बजेटको सीमाअनुसार कार्यान्वयन गर्नसक्ने गरी नीति तथा कार्यक्रम तय गरिएको जनाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयतालिका तय भइसकेको छ । आइतवार दिउँसो ३ बजेका लागि तय गरिएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नेछन् । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा प्रस्तुत गर्ने प्रावधान छ ।

प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसमाथि छलफल हुनेछ । छलफलमा नीति तथा कार्यक्रमका विषयमा प्रमुख प्रतिपक्षले आलोचना तथा टिप्पणी गर्न पाउनेछन् । नीति तथा कार्यक्रम प्रस्तुतपछि संसद्को अर्को बैठक पनि बस्नेछ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०८०, आईतवार ०८:५४