संसदीय समितिको नेतृत्व चयन

सुर्खेत: कर्णाली प्रदेशसभाका विषयगत समितिहरूको नेतृत्व चयन गरिएको छ । आइतवार चार वटै समितिको सभापति चयन गरिएको हो । सबै समितिका सभापति निर्विरोध भएका छन् ।

यसअघि सभामुख नन्दा गुरुङले प्रदेशसभाका सदस्यहरूलाई प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिको सदस्यहरूमा मनोनित गरेकी थिइन् । तिनै सदस्यहरूबाट आइतवार सर्वसहमतिले सभापति चयन गरिएको हो ।

प्रदेश मामिला समितिको सभापतिमा कल्याणी खड्का चयन भएकी छिन् । उनी नेकपा (एकीकृत समाजवादी)पार्टीकी सांसद हुन् । समानुपातिक सांसद खड्का एकीकृत समाजवादीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक्ली सदस्य हुन् ।

यसैगरी सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का जितबहादुर मल्ल छानिएका छन् । उनी यसअघि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । एमाले सरकारबाट बाहिरिएपछि संसदीय समितिको सभापति बनेका हुन् ।

अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का दुर्गाबहादुर रावत र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका घनश्याम भण्डारी चयन भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । सभामुख गुरुङले आइतवार नै नवनिर्वाचित समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले संसदीय समितिको नेतृत्व पाएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सहित अर्को सत्तारुढ दल नेपाली कांग्रेस र एक जना मात्रै सदस्य रहेको एकीकृत समाजवादीले पनि एक–एक वटा समितिको नेतृत्व पाए भने प्रतिपक्ष दल एमालेले एउटा समितिको नेतृत्व पाएको छ । सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले गर्ने व्यवस्था छ ।

प्रकाशित मितिः   १५ जेष्ठ २०८०, सोमबार ०५:०१