विपद् व्यवस्थापनमा लापरबाही

विभिन्न समयमा बाढीबाट प्रभावित बनेकाहरू अहिले पनि अस्थायी शिविरमा बसोबास गरिरहेका छन् । २०७१ मा आएको बाढीबाट विस्थापित भइ बराहतालको गिरिघाटमा बसोबास गरिरहेका पीडित् हुने वा पश्चिम सुर्खेतको चौकुनेमा गत भदौको बाढीले प्रभावित भएका नागरिक । उनीहरूको समयमै व्यवस्थापन हुन सकेन । त्रिपालकै भरमा बसोबास गरिरहेका छन् । तर यसरी त्रिपालको बास भने निकै कष्टकर हुने गरेको छ । एकातर्फ दैनिक गुजाराको पिरलो त छँदैछ वर्षात् र हावाहुरीले त्रिपालको छानो नै उडाएर निम्त्याउने अर्को विपदले पनि सताइरहन्छ । सोमवार साँझ एक्कासी आएको ठूलो हावाहुरीले बाढीपीडितहरूको थप विचल्ली भएको छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ८ का बाढीपीडितलाई पीडामाथि पीडा थपिएको छ । गत भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि उनीहरू खुला चौरमा पाल टाँगेर बसिरहेका थिए । सोमवार साँझ आएको हावाहुरीले त्रिपाल पनि उडाइदिएपछि उनीहरू खुला आकाशमुनि रात बिताउन बाध्य छन् । बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका हुन् । तीव्र हावाहुरीसँगै वर्षा हुँदा उनीहरूको बिचल्ली भएको छ । साँझ करिब नौ बजे पछि आएको हावाहुरीसँगैको वर्षाले त्रिपाल उडाएको हो । हावाले त्रिपाल उडायो । पानीले लत्ताकपडा र खाद्यान्नसमेत भिजायो । विस्थापित बस्तीमा रातभर भागदौड भयो । बाढीपीडित मात्र होइन अन्य नागरिकले पनि विपद्को सामना गर्नुप¥यो । चौकुने गाउँपालिकामा सोमवार साँझको हावाहुरीसहितको वर्षाले दुई सय घरधुरी र सात वटा विद्यालयमा क्षति पुगेको जनाइएको छ । घरका छाना उडाएको छ भने कुनै घरमा पूर्णरूपमा क्षति पुगेको छ ।

सरकारले आफूहरूको दुःख नदेखेको बाढीपीडितहरूको दुखेसो छ । त्यसो त कर्णालीमा प्राकृतिक विपत्तिबाट बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार वैशाख महिनामा मात्र प्राकृतिक विपत्तिबाट तीन जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । वैशाखमा मात्र २४ वटा विपत्का घटना भएका थिए । दश घरमा क्षति पुगेको छ भने प्रकोपमा परी तीन पशुचौपाया मरेका थिए । जेठ महिनाको यो अवधिसम्म सात वटा विपत्तिका घटना भएका छन् । जसमा परी सात पशुचौपाया मरेका छन् भने दुई वटा घरमा क्षति पुगेको छ । राज्यले भने प्राकृतिक विपदबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउनेदेखि विपदमा परेका नागरिकलाई उचित व्यवस्थापन गर्ने कार्यमा ढिलाइ र लापरबाही गर्दै आएको छ ।

प्रकाशित मितिः   ११ जेष्ठ २०८०, बिहीबार ०५:०३