जहाज नआउँदा विमानस्थलमै बिरामीको मृत्यु

पेटमा समस्या भएर उपचारका लागि नेपालगञ्जतर्फ लैजानका लागि मुगुको ताल्च विमानस्थलमा पुगेका एक विरामीको बिहीबार दिउसो विमानस्थलमै मृत्यु भएको छ।

पूर्वी करान भेगमा पर्ने पुलु गाविस–३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामालाई पेट दुखेपछि बिहीबार बिहान जिल्ला अस्पताल पु¥याईए पनि जिल्लामा उपचार हुन नसक्ने भन्दै अस्पतालले अन्यत्र लैजान भनेको थियो। थप उपचारका लागि नेपालगञ्ज लैजान विमानस्थलमा लगिए पनि जहाज नआउँदा उनको विमानस्थलमै मृत्यु भएको हो।

उनको आन्द्रामा प्वाल परेको थियो। जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख निरक शर्माले जिल्लामा उपचार संभव नभएपनि रिफर गरिएको बताए। हिमपातका कारण सडक यातायात अबरुद्ध भएको छ। आपतकालिन उपचारका लागि बिरामीलाई नेपालगञ्ज लैजान सम्भव पनि नहुँदा उनलाई जहाजबाट नेपालगञ्ज लाने तयारी आफन्तले गरेका थिए।

नेपालगञ्जबाट रारा विमानस्थलका लागि बिहीबार उडान तालिका राखिएको भए पनि नेपालगञ्जमा बाक्लो हुस्सु लागेका कारण उडान हुन नसकेको नेपाल नागरिक उड्ययन कार्यालय रारा विमानस्थल ताल्चका प्रमुख विशाल पाण्डेले जानकारी दिए।

प्रकाशित मितिः   ६ माघ २०७३, बिहीबार १८:१०