सरकारलाई बजेट खर्च गर्नै हम्मेहम्मे

दश महिनामा ३१ प्रतिशत मात्रै कार्यान्वयन

सुर्खेत: कर्णाली प्रदेश सरकारले दश महिनामा ३१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को वैशाखसम्म ३१ दशमलव २२ प्रतिशत बजेट खर्च भएको हो । जसमध्ये चालुतर्फ ३८ दशमलव ८२ प्रतिशत र पुँजीगततर्फ २६ दशमलव १५ प्रतिशत बजेट खर्च भएको छ ।

कूल ३२ अर्ब ९४ करोड ९० लाख तीन हजार नौ सय ६५ रूपैयाँमध्ये १० अर्ब २२ करोड १५ लाख ९४ हजार आठ सय ३२ रूपैयाँ बजेट खर्च भएको कार्यालयले जनाएको छ । सबै भन्दा बढी विकासे बजेट भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले २३ दशमलव ९४ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले ११ अर्ब तीन करोड चार लाख ५८ हजार बजेटमध्ये दुई अर्ब ५९ करोड ६७ लाख १५ हजार चार सय ५८ रूपैयाँ खर्च गरेको छ ।

कर्णाली प्रदेशको बजेट खर्च बर्सेनि निराशाजनक नै रहेको छ । चालु आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदा बजेट खर्च खासै उत्साहजनक नदेखिएको हो । बजेट खर्च गर्न थुप्रै चुनौतीहरू रहँदै आएको सरकारले बताउँदै आएको छ । कर्मचारी अभाव, अन्य स्रोत साधनको अभाव, आर्थिक वर्षको अन्तिममा आएर बजेट खर्च गर्ने प्रवृत्तिलगायतका कारण बजेट खर्च हुन सकेको छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाले चालु आर्थिक वर्ष ७० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरिएको बताए । उनले भने, ‘कर्मचारी अभाव, बिचमा चुनाव, सरकार परिवर्तनलागयतका कारणले खर्च कम छ । केही काम भएको तर भुक्तानी हुन बाँकी पनि रहेको र काम भइरहेकाले ७० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान छ ।’ चिसो सकिएपछि हिमाली क्षेत्रमा अहिले काम भइरहेको पनि बजेट खर्च बढ्ने उनले बताए । उनले कर्णालीमा प्राविधिक कर्मचारीको भाव हुँदा पनि बजेट खर्च सोचेअनुरूप हुन नसकेको बताए ।

सामाजिक विकास मन्त्रालयले ४१ दशमलव ३० प्रतिशत बजेट खर्च गरेको छ । ६ अर्ब आठ करोड ९३ लाख ८० हजार दुई सय ५५ रूपैयाँमध्ये दुई अर्ब ५१ करोड ३८ लाख ४५ हजार आठ सय ३० रूपैयाँ खर्च गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३० दशमलव ४१ प्रतिशत बजेट खर्च गरेको छ । दुई अर्ब ४१ करोड ३१ लाख ९१ हजार नौ सय ६५ रूपैयाँमध्ये ७३ करोड ३८ लाख ५५ हजार आठ सय ५९ रूपैयाँ बजेट खर्च गरेको हो ।

यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ३५ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको छ । तीन अर्ब ८१ करोड ९८ लाख १२ हजार रूपैयाँमध्ये एक अर्ब ३४ करोड २४ लाख ८६ हजार तीन सय ३८ रूपैयाँ बजेट खर्च गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३१ दशमव १८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले दुई अर्ब १६ करोड ८९ लाख रूपैयाँमध्ये ६७ करोड ६३ लाख ५१ हजार आठ सय २४ रूपैयाँ खर्च गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १८ दशमलव ९५ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले ६७ करोड ३५ लाख ९९ हजार रूपैयाँमध्ये १२ करोड ७६ लाख ४८ हजार नौ सय पाँच रूपैयाँ खर्च गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४७ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । २१ करोड ५५ लाख नौ हजार रूपैयाँमध्ये १० करोड २९ लाख ६ हजार तीन सय ७० रूपैयाँ खर्च गरेको हो ।

प्रकाशित मितिः   ४ जेष्ठ २०८०, बिहीबार ०५:०५