प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सुर्खेत: भुटानी शरणार्थी प्रकरण विरुद्ध नेकपा (एकीकृत समाजवादी) सुर्खेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । बुधवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटामार्फत ज्ञापनपत्र बुझाइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाही गर्न कुनै कसुर बाँकी नराख्न ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको हो । सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको एकीकृत समाजवादी पार्टीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले जानकारी दिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचार जस्तो जघन्य अपराधमा संलग्न भएका सबैलाई कारबाही गर्न र तिनीहरूलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नक्कली भुटानी शरणाथी काण्डका भ्रष्टाचारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै ज्ञापन पत्रमा निराश जनता केही मात्रामा आशावादी बनेको उल्लेख गरिएको छ । देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्चपदस्थ कर्मचारीले नै देशका नागरिकहरूलाई अर्को देशको नक्कली नागरिक बनाई बिक्री गर्नु मानव बेचबिखनको कार्यमात्र नभइ राष्ट्रप्रतिको धोका र राष्ट्रद्रोही कार्य भएको ज्ञापनपत्रमा जनाइएको छ ।

प्रकाशित मितिः   ४ जेष्ठ २०८०, बिहीबार ०५:०१