एक वर्षमै बन्नुपर्ने भवन चार वर्षदेखि अलपत्र
सुर्खेत: दैलेखको आठबिस नगरपालिका–९ छेपाडीमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सुरु गरेको चार वर्ष बितिसक्यो । हिमाल निर्माण सेवा आठबिसले आर्थिक वर्ष २०७५÷०७६ मा भवन निर्माणको ठेक्का लिएको थियो । सोही आर्थिक वर्षको असारसम्ममा काम सक्ने गरी सम्झौता भएपनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।
भवन समयमै सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या आएको छ । सेवा केन्द्र अहिले वर्षौं पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ । ठेकेदार कम्पनीले समयमै काम गरेको भए आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तसम्म काम सकिने थियो । लामो समय निर्माण कम्पनी बेखबर हुँदा सेवाग्राहीले सहजरूपमा सेवा पाउन सकेका छैनन् । भवन सम्पन्न गर्नका लागि पटक–पटक म्याद थप गरे पनि अहिलेसम्म काम पूरा हुन नसकेको आठबिस नगरपालिकाका इन्जिनियर प्रकाश आचार्यले बताए । निर्माण कम्पनीले भवन अलपत्र छोडेको छ । वर्षौंदेखि भवन अलपत्र हुँदा नागरिकले सहज रूपमा सेवा पाएका छैनन् ।
नगरपालिकाले पटक–पटक ताकेता गरेतापनि ठेकेदार सम्पर्कमा नआएको इन्जिनियर आचार्यले जानकारी दिए । ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भने नभएको उनको भनाइ छ । स्वास्थ्यचौकीको चारकोठे चवन निर्माणका लागि नगरपालिकाले १७ लाख बजेट विनियोजन गरेको छ । इन्जिनियर आचार्य भन्छन्, ‘यतिका समय भयो काम सम्पन्न हुन सकेन, आगामी आर्थिक वर्षमा नगरपालिकाले थप बजेट विनियोजन गरेर निर्माणलाई अघि बढाइनेछ, धेरै काम बाँकी छ । भवन नै जीर्ण देखिन्छ । ढलान, झ्याल ढोका बनाउन बाँकी छ ।’ अब यही कम्पनीलाई काम सक्न ताकेता गर्ने कि अर्कोलाई दिने केही दिनमा निक्र्यौल नभएको उनले बताए ।
भवन नहुँदा स्वास्थ्य सेवा लिन नागरिकलाई समस्या भइरहेको आठबिस नगरपालिकाका प्रमुख तर्क बडुवाल बताउँछन् । विभिन्न समयमा निर्माण सेवालाई काम गर्न भनिएको भएतापनि आलटाल गरिएको उनले जानकारी दिए । उनले भने, ‘वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्रमा भवन छैन । एक कोठे भवनबाट सेवा प्रभाह भइरहेको छ । यसको समाधानका लागि थप आवश्यक बजेट विनियोजन गरेर भवन निर्माण सम्पन्न गर्नेगरी पालिका लागेको छ ।’
एउटै कोठाबाट सेवा प्रवाह
भवन नबन्दा सबै सेवा एकै ठाउँबाट दिइरहेको आधारभूत स्वास्थ्य केन्द्र छेपाडीका इन्चार्ज प्रशान्त सिजापतिले बताए । उनका अनुसार स्वास्थ्य केन्द्रको भवन नबन्दा पुरानो साँघुरो भवनबाटै सेवा प्रवाह गर्नु परिरहेको छ । साँघुरो भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको उनी बताउँछन् ।
एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्ने लगायतका काम गर्नु पर्दा सेवा छिटो र छरितो बन्न नसकेको उनको भनाइ छ । भौतिक संरचना, कर्मचारी अभाव, आवश्यक स्रोत साधन नहुँदा सेवा दिन समस्या भइरहेको उनले बताए । उनले भने, ‘पुरानो भवनमा पर्याप्त कोठाहरू छैनन्, एकै पटक धेरै बिरामीहरू आए भने कहाँ जाँच गर्ने ? कहाँ खोप लगाउने ? कहाँ प्रसुति गराउने भन्ने समस्या हुन्छ ।’ ठेकेदारले ढिलासुस्ती गर्दा स्वास्थ्य सेवा प्रभावित बनेको उनले बताए । ‘बिरामीहरू उपचारका लागि आउनुहुन्छ, लाइनमा बस्नु पर्ने, धेरै बेर पर्खनु पर्ने अवस्था छ, भवन अभावकै कारण विश्राम गर्ने उपयुक्त ठाउँसमेत छैन’ उनले भने ।
प्रकाशित मितिः ४ जेष्ठ २०८०, बिहीबार ०५:०२
साझा बिसौनी ।