घरमै पुगेर नागरिकता प्रदान

सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले जन्मजात फरक क्षमता भएकालाई घरमै गएर नागरिकता वितरण गरेको छ । प्रशासनले शुक्रवार जन्मजात फरक क्षमता भएकी वीरेन्द्रनगर नगरपालिका–४ यरीचोककी २० वर्षीया रोशनी थापालाई घरमै पुगेर नागरिकता दिइएको हो ।

थापाले घरमै नागरिकता पाएकोमा खुसी व्यक्त गरिन् । फरक क्षमता भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिएका थिए । निवेदनको आधारमा घरमै आएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए ।

अधिकृत थापाका अनुसार रोशनीले फरक क्षमता भएको नागरिकताका लागि प्रशासनमा निवेदन दिएकी थिइन् । ‘हामीले उहाँको सहजताका लागि भएपनि उहाँको घरमै आएर राज्यबाट पाइने नागरिकता सेवा दिएका हौँ,’ नागरिकता वितरणपछि अधिकृत थापाले भने ।

रोशनी जन्मजात नै फरक क्षमताकी हुन् । लामो समयसम्म उपचार गर्दा पनि सम्भव नभएको रोशनीले बताइन् ।

प्रकाशित मितिः   ३० बैशाख २०८०, शनिबार १३:३८