प्राकृतिक विपदले लिन्छ धेरैको ज्यान

सुर्खेत: गत बुधवार दैलेखको आठबिस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी एक जनाको मृत्यु भयो । सोही ठाउँका ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो । उक्त आगलागीको घटनामा अन्य दश जना घाइते भए ।

२२ वैशाखमा मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेर एक जनाको मृत्यु भयो भने दुई जना बेपत्ता छन् । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बाक्लो हिउँ परेका कारण बेपत्ताको खोजीमा भने कठिनाइ भइरहेको छ ।

प्राकृतिक विपत्का पछिल्ला दुई दृष्टान्त हुन्, यी । कर्णाली प्रदेशमा बर्सेनि यस्ता विपद्मा परेर धेरैको ज्यान जाने गरेको छ । अन्य क्षति पनि ठूलो मात्रामा नै हुने गरेको छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी पहिरो, दोस्रोमा आगलागी र तेस्रोमा बाढीका कारण धनजनको क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ८६ वटा आगलागीका घटना भएका छन् । जसबाट सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

यसैगरी चट्याङका ३३ वटा घटना भएका छन् । तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यो वर्ष पहिरोका तीन सय ४८ वटा घटना भएका छन् । जसबाट ३८ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । चालु आर्थिक वर्षमा ३१ वटा बाढीका घटना भएका छन् । बाढीबाट चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कर्णालीमा पछिल्ला केही वर्षयता मनसुनजन्य विपद्का घटना बढ्दो छ । प्राकृतिक विपत्तिबाट मानवीय तथा धनजनको ठूलो क्षेति हुने गरेको छ । कर्णालीमा पहिरोबाट हुने क्षति बढ्दै जाने अर्को जोखिमको विषय बन्न पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले विपत्तिले नयाँ मोड लिएको बताए । पछिल्ला वर्षमा पहिरोबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको खड्काले जनाए । उनका अनुसार विपद्का दृष्टिले भूकम्पलाई छोडेर हेर्दा पछिल्लो दशक बाढीका कारण हुने मृत्यु दर घटेको तर पहिरोबाट हुने क्षति भने बढेको छ । बाढी र पहिरोजन्य घटना भने बढेको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिका घटनामा वृद्धि भएको उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय विपत्तिको नयाँ नयाँपन आएको छ । लेक मनसुन, हिमपहिरो, विभिन्न अकल्पनीय घटनालगायत विपत्तिका कारण हुने घटनामा परिवर्तन आएको छ ।’

कर्णालीका विभिन्न ठाउँ–ठाउँमा सुख्खा पहिरो जाने गरेको छ । यसरी पहिरो बढ्नुमा पहाडी इलाकामा बाटोको संख्या वृद्धि हुने तर रोकथामका उपाय नअपनाइनु भएको खड्काले बताए । अर्को कारण भने एकै ठाउँमा धेरै पानी पर्दा भेल पहिरोले जनधनको ठूलो क्षति गराएको छ । उनले भने, ‘यो विपत्तिले मानवीय मात्र होइन भौतिक क्षेति पनि गरेको छ । विपत्तिको प्रमुख कारण मानवीय क्रियाकलाप नै हुन् ।’

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेशमा बर्सेनि विपद्का घटना बढ्दो क्रममा छन् । आर्थिक वर्ष २०७५/०७६ मा आठ सय ८२ विपद्का घटना भएका थिए । यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा नौ सय दुई वटा घटना भए भने आर्थिक वर्ष २०७७÷०७८ मा चार सय १६ विपद्का घटना भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार दुई सय १५ वटा विपद्का घटना भएका थिए । चालु आर्थिक वर्षमा विपत्का घटनामा दोब्बरले वुद्धि भएको छ । यो वर्ष दुई हजार एक सय ५५ वटा घटना भएका छन् ।

विपत्तिबाट मानवीय क्षति

प्राकृतिक विपत्तिबाट कर्णालीमा ठूलो मानवीय क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विपत्तिको घटनामा परी ५६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ४८ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा विपत्का घटनामा परी ४१ जनाको मृत्यु भएको थियो । ८६ जना घाइते भएका थिए ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक विपत्तिबाट ८५ जनाले ज्यान गुमाएका थिए । एक सय सात जना घाइते भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ६८ जनाको मृत्यु भयो भने ७३ जना घाएते भए । चालु आर्थिक वर्ष २०७९/०८० मा विपत्का कारण ६५ जनाको मृत्यु भइसकेको छ । यसैगरी एक सय दश जना घाइते भएका छन् । प्रहरीको तथ्याङ्क हेर्दा बर्सेनि विपत्तिका कारण ठूलो मानवीय क्षति हुने गरेको देखिन्छ ।

प्रकाशित मितिः   ३० बैशाख २०८०, शनिबार ०५:०५