मृगाैलापीडित छात्रालाई एक लाख सहयोग

एसओएस हर्मन माइनर मावि वीरेन्द्रनगर ३ कालागाउँमा कक्षा ९ मा अध्ययनरत छात्रा पुष्पा चौधरीको दुवै मिर्गाैला खराब भएर काठमाडौंमा उपचाररत रहेको बेला खर्च अभाव भएपछि उनी पढ्ने विद्यालयले एक लाख बढी सहयोग गरेको छ । बुधवार विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र एसओएस बालग्राम तथा एसओएस सामाजिक सेवा केन्द्रले एक मुष्ठ एक लाख २ हजार ८७० रुपैया संकलन गरेको थियो । विद्यालयका प्रिन्सिपल हिक्मतबहादुर वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले छात्राका काका प्रेम चौधरीलाई सो रकम प्रदान गरेका छन् ।

विद्यालयबाट ७५ हजार २७५ रुपैयाँ, एसओएस बालग्राम र एसओएस सामाजिक सेवा केन्द्रबाट २३ हजार ५९० रुपैया“, अभिभावक नमिता गिरीबाट ४ हजार ५ रुपैयाँ सहयोग प्राप्त भएको थियो । निर्देशक गिरीले दुःखमा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएकोले थोरै रकम भएपनि आफ्नो छात्रालाई सवैले मिलेर सहयोगको गरिएको बताए । उनले छात्रा चौधरी छिटो निको होऊन् भनी प्रार्थना गरिरहेको जनाए ।

विद्यालयका प्रिन्सिपल वलीले आफ्नो छात्रा रकम अभावमा उपचार गर्न कठिनाइ भएकोले सम्पूर्ण विद्यार्थी, शिक्षक कर्मचारी, अभिभावकहरुबाट रकम संकलन गरी सहयोग प्रदान गरिएको बताए । उनले छात्रा चौधरीको उपचारका लागि विद्यालयले सहयोग अभियानसमेत संचालन गर्ने जानकारी उनले दिए । अभिभाभवक बालाराम शर्मा र नमिता गिरीले दुवै मिर्गौला खराब भइ उपचार गराइरहेकी बालिकालाई बचाउनका लागि सवैले सक्दो सहयोग गर्नुपर्ने सुझाव दिए ।

छात्रा पुष्पाका काका प्रेम चौधरीले काठमाडौंमा पुष्पाको उपचार भइरहेको र आर्थिक अवस्था ज्यादै दयनीय भएकोले पहिलो पटक यति धेरै आर्थिक सहयोग प्राप्त भएकोमा खुशी प्रकट गरे । गत असारदेखि गम्भीर विरामी भएपछि पुष्पालाई काठमाडौमा उपचार गराउँदा दुवै मिर्गाैला खराब भएको पत्ता लागेको थियो । वीरेन्द्रनगर २० कोलडाँडा बस्ने पुष्पाको पारीवारिक अवस्था कमजोर छ । अहिलेसम्म ऋण सापटी र सरसहयोग गरी तीन लाख रुपैयाँ उपचारमा सकिएको जानकारी दिदैं प्रेम चौधरीले विस्तृत रिपोर्ट आउन बाँकी रहेकोले अझै कति रकम लाग्ने हो थाहा नभएको बताए । विद्यालयले बालिकाको नाममा खाता खोलेर सहयोग अभियान चलाउने जनाएको छ ।

प्रकाशित मितिः   ५ माघ २०७३, बुधबार १६:११