बजेटको सिमा

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट निर्माणको तयारी भइरहेको छ । संघीय, प्रदेश र स्थानीय तिनै तहका सरकार यतिबेला आगामी बजेट र योजना निर्माण गर्दैछन् । देशको समग्र आर्थिक अवस्था नै कमजोर बनेको बेला आउने आगामी वर्षको बजेट चसोको विषय बनेको छ । तर आउँदो बजेटको आकार भने घट्ने देखिन्छ । खासगरी प्रदेश सरकारको बजेटका लागि संघीय सरकारले अनुदान कटौती गरेर बजेट सिलिङ पठाएको छ । वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको सिलिङ घटाएर पठाएको हो । संघीय सरकारले नै अनुदान कटौती गरेपछि प्रदेशको बजेट पनि घट्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान अन्तर्गत दश अर्ब १६ करोड बजेटको सीमा अनुमान प्राप्त भएको छ । चालु आर्थिक वर्षको भन्दा करिब ५६ करोड बजेट अनुदानमा घटेर आएको छ । आर्थिक वर्ष २०७९/०८० मा दश अर्ब ७२ करोड वित्तीय समानीकरणतर्फको बजेट सिमा रहेको थियो । हालसम्म प्रदेश सरकारलाई ६ अर्ब २९ करोड ९१ लाख बजेट मात्र प्राप्त भएको छ । एक अर्ब ३४ करोड बजेट प्रदेश सरकारलाई आउन बाँकी छ । यसअर्थमा पनि कूल आउने भनिएको बजेटमा तीन अर्ब आठ करोड घटेर आउने देखिएको छ । वित्तीय समानीकरण अनुदानअन्तर्गत न्यूनतम्, सूत्रमा आधारित र कार्यसम्पादनमा आधारित अनुदान रहन्छ । आगामी आर्थिक वर्षका लागि न्यूनतम् र सूत्रमा आधारित अनुदान घटेको छ । संघीय सरकारले प्रदेश सरकारलाई कूल चार वटा अनुदान पठाउने गर्छ । जसमध्ये विना कुनै सर्त प्रदेश सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न सक्ने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यसैगरी संघीय सरकारले राजस्व बाँडफाँटतर्फ आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि आठ अर्ब ८४ करोडको अनुमानित बजेट सिलिङ प्रदेशलाई पठाएको छ । चालु आर्थिक वर्षमा उक्त शीर्षकमा नौ अर्ब दुई करोड बजेट सिमा रहेको थियो । हालसम्म प्रदेश सरकारलाई राजस्व बाँडफाँडतर्फको पाँच अर्ब १२ करोड बजेट मात्र प्राप्त भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । आगामी असारसम्म उठ्ने राजस्व अनुपातका आधारमा राजस्व बाँडफाँड भइ आउने भएकाले यसो सिमा भने बढ्न पनि सक्नेछ ।

चालु आर्थिक वर्षमा विभिन्न शीर्षकमा बजेट सिमा घटेर आएता पनि खर्च कटौती गरेर बजेटको आकार धेरै नघटाउने तयारी सरकारको छ । मन्त्रालयले प्रशासनिक खर्च कटौती गरेर बहुवर्षिय क्रमागत आयोजना सम्पन्न गर्नेगरी बजेट ल्याउने तयारी थालेको छ । यद्यपि, वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको बजेट सिमा घटेर आउने हुँदा मन्त्रालयलाई आगामी आथिक वर्षको बजेट तर्जुमा गर्न सकस पर्ने देखिन्छ ।

प्रकाशित मितिः   २७ बैशाख २०८०, बुधबार ०५:०३