हिउँदे अधिवेशन अन्त्य

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको छ । आइतवार बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख नन्दा गुरुङ्गले अधिवेशन अन्त्य भएको जानकारी दिइन् ।

पहिलो अधिवेशनको प्रथम बैठक गत पुस १८ गते बसेको थियो । त्यसयता १५ वटा बैठक बसेको छ । यस अवधिमा २० घण्टा सात मिनेट नौ सेकेण्ड सभा सञ्चालन भएको हो । पहिलो अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचन, कार्य व्यवस्था परामर्श समिति गठन, विषयगत समितिहरूको गठनलगायतका कार्यहरू गरेको छ ।

हिउँदे अधिवेशनको रूपमा रहेको यो अधिवेशन विधेयक अधिवेशन पनि हो । तर यो अधिवेशनमा कानुन निर्माणको काम भने शून्य रहेको छ । हालसम्म दुई वटा विधेयक मात्र प्रदेशसभामा टेबुल भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक टेबुल भएका हुन् । यी विधेयकलाई समान्य छलफलपछि विषयगत समितिमा पठाइएको छ ।

अधिवेशनको अधिकांश समय प्रदेशसभा बिजेनशविहीन भयो । राष्ट्रिय राजनीतिमा आएको फेरबदलको प्रभाव कर्णाली प्रदेशसभामा पनि प¥यो । जसका कारण पहिलो अधिवेशनमा मुख्यमन्त्री राजकुमार शर्माले तीन पटक विश्वासको मत लिए ।

यसैबीच सभाका विषयगत समिति गठन गरिएको छ । सभा गठन भएको तीन महिनापछि चार वटा विषयगत समिति गठन गरिएको हो । आइतवार प्रदेशसभाको दोस्रो कार्यकालको अन्तिम बैठकमा सभामुख गुरुङ्गले विषयगत समिति गठन भएको जानकारी दिइन् । प्रदेशसभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन् ।

प्रदेश मामिला समितिमा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी सदस्य रहेका छन् । यस्तै सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, तुल्सा मल्ल, देवेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही छन् भने अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, बलिमाया बुढा, विजया बुढा, वीरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट छन् । त्यसैगरी सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गौमता विक, घनश्याम भण्डारी, जुम्कित लामा कार्की, मिलन खड्का रोका, यामलाल कंडेल र राजीवविक्रम शाह रहेका छन् ।

प्रकाशित मितिः   १८ बैशाख २०८०, सोमबार ०५:०१