मुख्यमन्त्रीलाई फेरि विश्वासको मत

सुर्खेत: तीन महिनामा तीन पटक मन्त्रिपरिषद् विस्तार गरेका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन् । शुक्रवार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् । यो तेस्रो पटक हो । मुख्यमन्त्री शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका थिए ।
नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइसकेपछि विश्वासको मत मागेका शर्माको पक्षमा प्रदेशसभाका २९ जना सदस्यले मत दिएका छन् । उनले आफ्नो दल नेकपा (माओवादी केन्द्र) का १३ जना सदस्यसहित नेपाली कांग्रेसका १४ जनाको मत पाए । त्यसैगरी अर्को सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का एक र स्वतन्त्र एक जना सांसदले पनि शर्मालाई विश्वासको मत दिएका हुन् । उनीहरू सबैले यसअघि (दोस्रो पटक) पनि विश्वासको मत दिएका थिए । त्यतिबेला सरकारमै सहभागी रहेको नेकपा (एमाले)ले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि शर्माले चार महिना नबित्दै तेस्रो पटक विश्वासको मत लिनु परेको हो ।
यसअघि सत्तामा रहेको नेकपा (एमाले) अबदेखि भने प्रमुख प्रतिपक्षी बनेको छ । एमालेसँगै सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षीका रूपमा रहेको छ । पहिलो पटक राप्रपा र दोस्रो पटक एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । एमाले र राप्रपा बाहिरिएपछि यसअघि प्रतिपक्ष दल रहेको कांग्रेस भने तीन मन्त्रीसहित सरकारमा गएको छ । सरकारमा सहभागी नभएपनि एकीकृत समाजवादीले भने सरकारलाई समर्थन गर्दै आएको छ ।
२०७९ पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई सभामुखबाहेक नेकपा एमालेका नौ जना, माओवादीका १३ जना, राप्रपाका एक जना, एकीकृत समाजवादीका एक जना र स्वतन्त्र एक जना गरी २५ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।
तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले शुक्रवार तेस्रो पटक विश्वासको मत लिनु परेको हो । यस्तै सुरूमा सरकारलाई समर्थन गरेको राप्रपाले फागुन १८ गते समर्थन फिर्ता लिएको थियो । त्यसपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यसबेला राप्रपाका एक जना सांसद र सभामुखबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका ३८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।
शुक्रवारको प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै दलहरू त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताए । प्रदेशलाई समृद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको भन्दै उनले भने, ‘विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रूपमा काम गर्नेछु ।’
‘सबैलाई साथमा लिएरै अघि बढ्छौँ’
को सरकारमा छौँ र को सरकारमा छैनौँ यो दोस्रो पाटो हो, पहिलो पाटो भनेको कर्णालीका समस्या समाधान गर्ने कुरा नै हो । म यहाँ अर्को कुरा पनि राख्न चाहन्छु, यो गणतन्त्र, यो संविधान, यो व्यवस्था गमलामा हुर्केको विरुवा होइन, हेक्का रहोस् । यो एउटा आँधी, हुरी, बतासका झोक्का खाँदै उभिएको एउटा सतीसाल हो । योभित्र थप्रै अपुगताहरू छन्, थुप्रै समस्याहरू छन् ति समस्याहरू समाधान गर्न हामी लागि राखेका छौँ ।
राजनीतिक आन्दोलनमा देखिने परिदृष्यहरू देखिन्छन्, उतार–चढाप हुन्छन् । कहिलेकाहीँ त्यस्ता सलहहरू पनि देखिन्छन् तर अलि हेपाइको सीमा त बढ्दै छैन कतै ? नहेपियोस् । म फेरि पनि भन्न चाहन्छु कि यो गमलामो हुर्किएको विरुवा होइन, आँधी–हुरी, असिना–पानी पचाउँदै आएको सतीसाल हो ।
सुशासनका कुरा, पारदर्शीताका कुरा म तयार छु । कहाँ–कहाँ बिग्रेको छ, भत्केको छ सुधारौँ । विकास निर्माण कसरी गर्ने ? नीति कस्तो बनाउने ?
काम गर्दै जाने क्रममा अहिले हामी छैटौ वर्षमा दौडिराखेका छौँ । यहाँभित्रका पूर्णताहरू, यहाँभित्रका अपूर्णता र समस्याहरूबाट हामी अछुतो छैनौँ । सबैले बुझिराखेकै छौँ । अब्बल हुने शब्द र भाषणहरूबाट होइन, व्यवहारबाटै हो, कामबाटै हो । हामी ठोस योजनामा छलफल र बहस गर्ने प्रक्रियामा छौँ । नीति निर्माणकै प्रक्रियामा छौँ । हामी सबै नीति निर्माणको प्रक्रियामा सँगसँगै हुनेछौँ । एकरूपताका साथ अगाडि बढ्ने छौँ ।
प्रकाशित मितिः १६ बैशाख २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।