सामुदायिक विद्यालयको वर्तमान र भविष्य

बर्सेनि हजारौंको संख्यामा लाखौँ खर्चेर राम्रो शिक्षाको प्रलोभन वा आशामा विदेशिनु बाध्यता छ । यसले देशको पैसा विदेश गइरहेको छ भने देशमा करोडौ खर्चेर सञ्चालनमा रहेका विश्वविद्यालयहरूमा विद्यार्थीहरूको अभाव छ ।

सामुदायिक विद्यालयमा निःशुल्क पढाइ, निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, सेनेटरी प्याड, छात्रवृत्ति, इन्टरनेट सेवालगायतका थुप्रै कार्यक्रम लागू गरेर सरकारले सामुदायिक विद्यालयहरूलाई अब्बल बनाउन प्रयास जारी गरिरहेका बेला बर्सेनि यी विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार आधारभूत तहमा सामुदायिकतर्फ २०७४ मा ५८ लाख ३७ हजार विद्यार्थी भर्ना भएका थिए भने गत वर्ष ५३ लाख २५ हजार मात्र भर्ना भएका थिए । उता निजीमा सोही तहमा पाँच वर्ष अघि नौ लाख ८० हजार भर्ना भएका थिए भने २०५८ मा १४ लाख ४६ हजार विद्यार्थी भर्ना भएको तथ्याङ्कले देखाउँछ ।

जनसंख्या घटेको हुनाले बालबालिकाको संख्या पनि घटेकोले गर्दा भर्ना दर पनि घटेको केन्द्रका अधिकारीहरूको भनाइ छ । हुन पनि गत वर्ष सामुदायिक तथा निजी विद्यालयमा भर्ना हुनेको संख्यामा नौ प्रतिशतले कमी आएको महालेखा परिक्षकको प्रतिवेदनमा उललेख छ । हाल आधारभूत तहका कूल विद्यार्थीमध्ये ७३ प्रतिशत सामुदायिकमा र २७ प्रतिशत निजीमा अध्ययनरत छन भने पाँच वर्ष पहिले ८० प्रतिशत विद्यार्थी सामुदायिकमा र २० प्रतिशत विद्यार्थी निजीमा अध्ययन गर्दथे । वि.सं. २०७४ देखि २०७८ सम्मको हिसाब गर्ने हो भने पाँच वर्षमा सामुदायिकमा १० लाख वद्यार्थी घटेको तथ्याङ्क हामी पाउँछौँ ।

हाल २७ हजार आठ सय सामुदायिक विद्यालयमध्ये चार सय २२ वटामा मात्र नमुना विद्यालय कार्यक्रम लागू भएको अवस्था छ । नमुना विद्यालयमा भने विद्यार्थीको कमी छैन । किनभने नमुना विद्यालयहरूले थुप्रो प्रकारको अनुदानहरू पाउने व्यवस्था सरकारले गरेको छ । यी विद्यालयहरूले पुस्तकालय, प्रयोगशाला, भवन, आवासिय सुविधा, खेल मैदान, घेरवार, बगैचा, खानेपानी र सरसफाईका लागि अनुदान पाउँदछन् ।

सहरी क्षेत्रमा निजी विद्यालयहरूमा गुणस्तरीय शिक्षा, सरसफाई, नियमित गृहकार्य जाँच, अतिरिक्त क्रियाकलापहरूका कारण अभिभावकहरू आकर्षित भएको देखिन्छ र अर्को कुरा सामाजिक हैशियत देखाउनका लागि पनि निजी विद्यालयहरू अभिभावकको आर्कषणका केन्द्रबिन्दु बनेका छन् ।

अर्कोतर्फ सामुदायिक विद्यालयहरूमा निजीको हाउँगुजी जस्तै डर पसेको छ । ऊ राम्रो छ । अनि हाम्रोमा उत्कृष्ट केही छैन । र, अर्को कुरा हाम्रो तलब र अन्य खर्च सरकारले दिइ राखेकोछ । विद्यार्थी आए पढाइदिउँला न आए के छ र ? आदि ।

विद्यालय शिक्षा कक्षा १ देखि कक्षा १२ कक्षामा भर्ना भएपनि बीचैमा कक्षा छाडेर, अनुत्तीर्ण भएर र विविध कारणले पढाइ पूरा नगर्ने विद्यार्थीको संख्या धेरै छ । भर्ना भएका मध्ये १० कक्षासम्म टिकाउदर ५७ प्रतिशत र कक्षा १२ सम्म १७ प्रतिशत मात्र छ । पढाइ छाड्नुको धेरै कारण छन् । ति मध्ये गरिबी नै मुख्य कारण हुने गरेको कुरा धेरै अध्ययनले बताइसकेका छन् ।

अर्को महत्वपूर्ण कारण भनेको सामुदायिक विद्यालयहरूका अभिभावकहरू विद्यालयप्रति त्यति धेरै जिम्मेवार पनि देखिँदैनन् । उनीहरूले सोच्दछन् कि विद्यालय पठाएकै छ । पढेर आइहाल्छ नि । शिक्षहरूको धारणा पनि उस्तै छ । नियमन गर्ने निकायले राम्रोसँग र नियमित तरिकाले नियमन नगरिदिँदा शिक्षकहरूले सोच्दछन् कि पढाए पनि भयो नपढाए पनि भयो । यो सबैका लागि त होइन तर अधिकांश यस्तै पाइन्छ ।

समस्याहरू त थुप्रै छन् । तर हामीसँग उपायहरू पनि छन् । जबसम्म सामुदायिक विद्यालयहरूलाई अभिभावकहरूले यो मेरो विद्यालय हो । सरकारको लगानीमा मेरो पनि अंश छ भनेर अभिभावकहरूले बुझ्नु हुँदैन तबसम्म सामुदायिक विद्यालयहरूको अवस्था यस्तै रहन्छभन्दा त्यति अतियुक्ति नहोला ।

सामुदायिक विद्यालयमा निजीमा भन्दा अवसरहरू धेरै छन् । माथि नै भनिसकियो कि नमुना विद्यालयहरूमा थुप्रै प्रकारको अनुदानहरू पनि आउँछ । अन्य विद्यालयहरमा पनि सुविधाहरू प्रशस्तै छन् । जस्तै शुल्क तिर्नुपर्दैन । दलित तथा अन्य बालबालिकाहरूका लागि छात्रवृत्तिहरूको सुविधा हुन्छ । अन्य भौतिक स्रोतहरू पनि बलिया र राम्रा हुन्छन् । तालिम प्राप्त शिक्षकहरूको उपलब्धता रहेको हुन्छ ।

  • यस प्रकारको अवसरलाई उपयोग गर्नु आजको आवश्यक्ता हो । यसका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरूका बालबालिकाहरू आफ्नै विद्यालयमा पढाउनुपर्ने प्रवधान हुँदाहुँदै आफ्ना बालबालिका निजीमा पढाउने र नक्कली अभिभावक बनेर पद ओगट्ने, राजनैतिक बर्चश्वका आधारमा यस्ता समितिहरूमा बस्न मिल्ने, स्थानीयस्तरमा शिक्षक नियुक्ति आफ्नालाई गरिदिनु जस्ता प्रवृत्ति छ । यसलाई आजकै दिनबाट निर्मुल पार्नु पर्दछ । शिक्षा क्षेत्रमा भइरहेको अराजकता र भ्रष्टाचारहरू आजैका दिनबाट हटाइनु पर्दछ ।
  • धेरै समयको पैरवी र पृष्ठपोषणपश्चात् हाल पाठ्यपुस्तक विद्यालयहरूमा पुगेका छन् । ति पाठ्यपुस्तकहरूलाई उचित तरिकाले वितरण गर्ने, सुरक्षित तरिकाले अध्ययन गर्ने र अर्को वर्ष नयाँ विद्यार्थीलाई उपलब्ध गराउने प्रचलनको विकास आवश्यक छ । अन्यथा हरेक वर्ष करोडौं पैसा पुस्तक छपाईमा खर्च हुने देखिएको छ । यस प्रकारको लापरबाहीलाई पनि निरुत्साहित गर्न जरुरी छ ।
  • आफूले पढाउने विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरी सोही विद्यालयमा अध्ययन गर्ने नियम कडाईका साथ ल्याउनु पर्ने देखिन्छ ।
  • आफू वि.व्य.स. वा शि.अ.स. जस्ता समिति वा अन्यमा संलग्न भएका अभिभावकका छोराछोरी सोही विद्यालयमा अध्ययन गर्ने नियम कडाईका साथ ल्याउनु पर्ने देखिन्छ । पदका लागि पदमात्रको काम गर्ने हो कि साँच्चैको काम गर्ने हो ? भन्ने प्रश्नहरू पनि आइरहेका छन् । अधिकांश विद्यालयहरूमा समाजका प्रतिष्ठित व्यक्तित्वहरू वि.व्य.स. का अध्यक्ष बनाउने तर उनीहरूका बालबालिका अन्य निजी विद्यालयहरूमा पढ्ने गरेका पनि छन् । प्रतिष्ठाका लागि मात्र पद चाहिएको हो कि ? वा विद्यालयमा सहभागि भएपछि विद्यालयको प्रगतिको कुरा पनि गर्ने ?
  • दुर्गमका विद्यालयहरूका पीडा अझ दुःखदायी छन् । विद्यालयमा केन्द्रबाट शिक्षकहरू जाने चलन हुन्छ । बिहान विद्यालय जाने र साँझ पुनः आफ्नो घर वा केन्द्रमा नै फर्किने प्रवृत्ति अहिले पनि छ । वास्तवमा विद्यालय घरभन्दा पनि सहज र सुविधासम्पन्न हुनु पर्दछ ।
  • हामीले भन्ने गरेको वास्तविकता चै बालबालिका संवेदनशील हुन्छन् । उनीहरूलाई धेरै ध्यान दिन आवश्यक छ । र, घरमा सोही अनुसार व्यवहार पनि अलि अलि गर्दछौँ तर विद्यालय गयो भने स्वच्छ पिउने पानीको व्यवस्था छैन । ट्वाईलेट गयो पानी हुँदैन । फोहोर राख्ने डस्टवीन छैन । विद्यालयहरूमा उचित वा सुविधासम्पन्न भान्छा हुँदैन । दिवा खाजा खुवाउने विद्यालयमा हेर्यो भने प्रष्ट हुन्छ । भान्छा धुलाम्मे हुन्छ । भाडाकुडीहरू सफा हुँदैनन् । चुल्हो धुवायुक्त हुन्छन् । खाना÷खाजा खाने प्लेटहरू पनि राम्रोसँग सफा नगरेका पाइन्छन् । कति लाप्रवाह हुन्छ । कल्पना पनि गर्न सकिँदैन । अरु विज्ञान प्रयोगशाला, पुस्तकालयहरू त अलि परैको कुरा हो ।
  • अतिरिक्त क्रियाकलापहरूको पनि विद्यार्थी आकर्षण गर्न निकै महŒवपुर्ण भूमिका हुन्छ । त्यस्ता क्रियाकलापहरू कागजमा मात्र सिमित छन् । हुने गरेता पनि औपचारिकताका लागि मात्र हुने गरेका छन् । कार्यक्रम अलि व्यवस्थित तरिकाले गर्ने । त्यसको अभिलेखन गर्ने र त्यो भन्दा अझ राम्रो गर्ने । पृष्ठपोषण आदान–प्रदान गर्ने जस्ता कार्य हुँदैनन् । कार्यक्रमको नाममा औपचारिकता मात्र हुने गरेको छ । म कुनै नमुना भनिने विद्यालयको अतिरिक्त क्रियाकलाप अनतरगत वाद विवाद कार्यक्रममा सहभागी हुने अवसर मिल्यो र उपस्थित भएँ । तर उक्त कार्यक्रममा न विषयवस्तुको शीर्षक मिलेको थियो न विद्यार्थीले राम्रोसँग तयारी नै गरेका थिए । अच्चम लाग्यो । तर कार्यक्रम सम्पन्न भयो । यसबाट विद्यार्थीले के सिक्यो ? अर्को कार्यक्रम कसरी गर्ने ? भन्ने विषयमा समिक्षासमेत भएन । यसरी सतही तरिकाले काम गर्ने प्रवृत्तिले विद्यार्थीले नविनतम् के सिक्छ ?
  • शैक्षिक भ्रमण पनि अतिरिक्त क्रियाकलापहरूमा नै पर्दछ तर शैक्षिक भ्रमण पनि त्यस्तै सतही ढंगले नै सम्पन्न गरिन्छ । थुप्रो पैसा खर्च हुन्छ तर उपलब्धि शुन्य जस्तै हुन्छ । विषयगत शैक्षिक भ्रमण हुन जरुरी छ । जस्तो विज्ञान विषयको लागि छुट्टै, सामाजिक विषयको लागि छुट्टै, भूगोल विषयको छुट्टै, ईतिहाँस विषयको छुट्टै खालको शैक्षिक भ्रमणहरू आयोजना हुनु पर्दछ । विषयगत शैक्षिक भ्रमणको पनि आफ्नै विधि प्रकृयाहरू विकास गरेर उपलब्धिपूर्ण शैक्षिक भ्रमण आयोजना गर्नु पर्दछ । एउटै शैक्षिक भ्रमणमा सबै कुरा समेट्दा उपलब्धि शून्यप्रायः हुन्छ । किनभने विद्यार्थीहरूलाई अन्योल सिर्जना हुन्छ । कुन विषयमा बढी जोड दिने ? प्रतिवेदन कुन विषयमा केन्द्रित भएर लेख्ने ? हेर्नुहोस त हाम्रो लापरबाही ?
  • इन्टरनेट पनि अधिकांश विद्यालयहरूमा छ । तर त्यसको उपयोग कसरी हुन्छ ? कहिल्यै हामीले अध्ययन गरेका छौं ? वास्तवमा इन्टरनेट फेसबुक, ट्वीटर, लिङ्कइन जस्ता प्रोग्रामहरू चलाएर बितेको हुन्छ । खोजमुलक, अनुसन्धानमुलक वेवसाइटहरू खोजेर सिक्ने सिकाउने चलन प्रायः हुँदैन । शिक्षकहरू पनि त्यही, विद्यार्थीहरू पनि त्यही । तर इन्टरनेटको काम त्यति त होइन होला ।

यति हुँदाहुँदै पनि विद्यालयको घेरबार पनि राम्रोसँग व्यवस्थित गरिएको हुँदैन । बेलाबेला शिक्षकहरू बिदामा बस्ने, सार्वजनिक बिदा धेरै हुने, स्थानीय बिदा पनि धेरै हुने, समयमा पाठ्यपुस्तक उपलब्ध नहुने, विषयगत शिक्षकको कमि हुने, शिक्षकहरूलाई पर्याप्त तालिमको अभाव हुने, तालिम प्राप्त गरिहाले पनि तालिममा सिकेका कुरा कक्षा कोठामा प्रयोग नहुने जस्ता थुप्रै–थुप्रै कारणले गर्दा हाल सामुदायिक विद्यालयहरूमा बर्सेनि विद्यार्थी घटेको हुन सक्छ र अर्को महŒवपूर्ण कुरा भनेको के भने अलि आर्थिक अवस्था राम्रो भएका अभिभावकहरूले निजी विद्यालय रोज्नुले पनि यो समस्या आएको हो ।

यसको तत्काल समस्या समाधान देखिँदैन । जबसम्म सोही विद्यालयका शिक्षक, पदाधिकारीहरू, त्यस वडाका जन प्रतिनिधीहरूले आफ्नो विद्यालयमा नै आफ्ना बालबालिका पढाउने नीति बन्दैन र यसो हुँदैन तबसम्म सामुदायिक विद्यालयहरू यही अवस्था मै रहन्छन् । यसका लागि सरकारले नीतिगत रूपमा नै यो व्यवस्था ल्याउन आवश्यक छ । के सामुदायिक विद्यालयमा गुणस्तर बढाउन सकिँदैन ? अवश्य सकिन्छ । यसका लागि सोच बदल्नु आवश्यक छ । यसका लागि अध्ययन गर्न आवश्यक छ । यसका लागि छलफल गर्न आवश्यक छ । देशले केन्द्रदेखि स्थानीयस्तरसम्म शिक्षा क्षेत्र सुधारमा वैज्ञानिक विचार ल्याउन जरुरी छ र शिक्षामा देशको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट हरेक वर्ष विनियोजन गर्न जरुरी छ ।

प्रकाशित मितिः   १६ बैशाख २०८०, शनिबार ०५:०४