विद्युतीकरणको लक्ष्य

विद्युतीकरणमा कर्णाली प्रदेश निकै पछि छ । केही जिल्ला अझै राष्ट्रिय विद्युत प्रसारण लाइनको पहुँचमै पुगेका छैनन् । पहुँच पुगेका जिल्लाका पनि सबै क्षेत्र विद्युतीकरण भएको छैन । अधिकांश स्थानीय तहमा बिजुली छैन । यद्यपि, पछिल्लो समय पहुँचमा वृद्धि भने भएको छ । खास गरेर स्थानीय सरकारले विद्युतीकरणलाई प्राथमिकता दिएका छन् । जसका कारण हरेक घरमा बिजुली पु¥याउने योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । पहिलो कार्यकालदेखि नै स्थानीय सरकारले विद्युतीकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन थर्न थालेकाले पछिल्लो समय कर्णाली प्रदेशमा पनि विद्युतमा नागरिकको पहुँच बढेको छ ।

कर्णालीका कैयन् पालिका अहिले पनि विद्युतविहीन छन् । केहीमा भने आंशिकरूपमा विद्युतीकरण भएको छ । आंशिक रूपमा विद्युतीकरण भएका स्थानीय तहमा पूर्णरूपमा सेवा उपलब्ध गराउने योजनाका साथ स्थानीय सरकार र नेपाल विद्युत प्राधिकरण लागि परेका छन् । केही स्थानीय तहमा प्राधिकरणले विद्युत सेवा उपलब्ध गराउन सकेको छैन । ती स्थानीय तहलाई केन्द्रमा राखेर प्राधिकरणले योजनाबद्ध प्रयास गरिरहेको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णालीका केही स्थानीय तहहरूमा विद्युतीकरणमा ढिलाइ भइरहेको छ । त्यसका लागि स्थानीय तहहरूले सामुदायिक विद्युतीकरणसँग मिलेर काम अघि बढाएका छन् । दैलेखको गुराँस गाउँपालिकाका दुई हजार पाँच सय घरधुरीमा बत्ती बलेको छ । गाउँपालिकाले ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रमसँग मिलेर विद्युत विस्तार गरेको हो । बिजुलीको सुविधा नपुगेको गाउँपालिकाका टोल–टोलमा पहिलो पटक बत्ती बलेको छ । स्थानीयवासीको उज्यालोमा बस्ने रहर पूरा भएसँगै उनीहरूको मुहारमा उज्यालो थपिएको छ । गाउँपालिकाले यो वर्ष नै एक हजार घरधुरीमा बत्ती बाल्ने लक्ष्य राखेको जनाएको छ । यस्तै सुर्खेतको सिम्ता गाउँपालिकाका ४५ प्रतिशत घरधुरीमा बत्ती बलेको छ । ‘सिम्ता उज्यालो कार्यक्रम’ अन्तरर्गत पालिकाका नौ मध्ये आठ वटा वडामा बत्ती बलेको छ । पालिकाले नीति–कार्यक्रम र बजेटमा प्राथमिकता राखिएकाले विद्युतीकरणको काम अघि बढेको छ । यी त केही उदाहरण हुन् ।

विद्युतीकरण तीनै तहका सरकारले प्राथमिकतामा राखेको योजना हो । तर त्यसको कार्यान्वयन भने सुस्त छ । संघीय र प्रदेश सरकारले थालेका विद्युतीकरणका थुप्रै योजना अलपत्र छन् । तर, विद्युतीकरणमा स्थानीय तहका कार्यक्रम भने प्रभावकारी देखिएका छन् । पालिकाहरूले छोटो अवधिमै विद्युतीकरणका योजनामा उल्लेखनीय प्रगति गरेका हुन् । तीन तहकै समन्वयमा योजना कार्यान्वयन गर्नसके हरेक बस्तीमा बिजुली पु¥याउने लक्ष्य पूरा हुनसक्नेछ ।

प्रकाशित मितिः   १४ बैशाख २०८०, बिहीबार ०५:०३