दैलेखमा बिरामी थपिदैं, रोगको नमुना राजधानी लगियो

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ फागुन ।
दैलेखमा पाँच दिन अघिबाट फैलिएको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । दुई जना शिशुको ज्यान जाने गरी गत शनिवारबाट फैलिएको रोगको संक्रमणबाट थप बालबालिकाहरू समेत बिरामी हुन थालेका छन् । जिल्लाका विभिन्न गाविसबाट बुधवार प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रामा मात्र १५ जना बालबालिका उपचारका लागि भर्ना भएका छन् ।
तोलीजैसीमा दुई जना शिशुको ज्यान गएपछि अन्य बालबालिकाको संक्रमणकै कारण मृत्यु नभए पनि उपचारका लागि आउने बिरामीको संख्या भने बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिरामीको उपचारका लागि गाउँ–गाउँमा स्वास्थ्यकर्मीको टोली खटाइएको छ । कार्यालयका प्रमुख डाक्टर निर्मल रसाइलीले संक्रमण नियन्त्रणमा आइनसकेको भन्दै थप बालबालिकाहरूमा समेत संक्रमण देखिएको बताए । उनका अनुसार बुधवार थप १५ जना बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका छन् ।
संक्रमण फैलिएको पाँच दिनसम्म पनि रोगको पहिचान नभएपछि बुधवार बिरामीबाट रोगको नमुना सङ्कलन गरिएको छ । रोग नियन्त्रण महाशाखा र केन्द्रीय प्रयोगशाला काठमाडौंबाट आएको विशेषज्ञ चिकित्सकसहितको टोलीले रोगको नमुना सङ्कलन गरेको छ । मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका महामारी नियन्त्रण फोकल पर्सन श्यामलाल आचार्यले बुधवार ११ जना बिरामीबाट रोगको नमुना सङ्कलन भएको बताए । उनका अनुसार तीन जनाबाट रगत, पाँच जनाबाट खकार र तीन जना बिरामीबाट दिसाको नमुना सङ्कलन गरिएको छ । बिरामीबाट सङ्कलन गरिएको नमुना लिएर टोली बुधवार नै राजधानी फिर्ता भएको छ । नमुना बिहीवार मात्र राजधानी पुग्ने र केन्द्रीय प्रयोगशालामा परीक्षण गरेपछि मात्र रोगको वास्तविक पहिचान हुने आचार्यको भनाइ छ । उनले भने, ‘विशेषज्ञको टोलीले यहाँबाट नमुना लिएर गएको छ, अबको दुई तीन दिन भित्रमा रोगको वास्तविक पहिचान हुनेछ ।’ ल्याबमा परीक्षण भएपछि मात्र संक्रमणबारे थप जानकारी खुल्ने उनको भनाइ छ । 
संक्रमणबाट बिरामी भएकाहरूमध्ये हालसम्म ८० जना भन्दा बढी बालबालिकाहरू अस्पतालको सम्पर्कमा आएको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्राले जनाएको छ । केन्द्रका डाक्टर विकास शाहले गम्भीर बिरामी भएका आठ जना बालबालिकालाई भने थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जानकारी दिए । उनका अनुसार अन्य बालबालिकाहरूको प्राथमिक स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ । बालबालिकाहरूमा एकाएक संक्रमण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनको टोली पनि प्रभावित क्षेत्रमा पुगेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनबाट समेत डाक्टरहरूको टोली  बुधवार प्रभावित क्षेत्रमा पुगेर उपचार थालेको जनाएको छ  । निर्देशनालयका महामारी नियन्त्रण फोकल पर्सन आचार्यले मौसम परिवर्तन र फोहोरका कारण संक्रमण फैलिएको बताए । साथै उनले संक्रमण नियन्त्रणका लागि हरेक टोलमा सम्पर्क केन्द्रको स्थापना गर्नुका साथै महिला स्वास्थ्य स्वयम् सेविकालाई समेत परिचालन गर्न लागिएको जानकारी दिए । रोगको पहिचान नहुँदा जिल्लाको तोलीजैसी गाविसमा देखिएको संक्रमण विस्तारै छिमेकी गाविसहरूमा फैलिएको छ । सुरुवातमा तोलीजैसीमा देखिएको रोगको संक्रमण अहिले छिमेकी गाविसहरू लकान्द्रा, विशल्ला, चामुण्डा र सातल्लामा समेत फैलिएको छ । बिरामीको चाप बढेपछि एउटै कोठामा चार–पाँच जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने अवस्था आएको स्थास्थ्यकर्मीले बताएका छन् । संक्रमण नियन्त्रणका लागि भन्दै प्रभावित क्षेत्रमा जिल्लाका अन्य स्थानबाट समेत स्थास्थ्यकर्मी खटाइएको छ । अवस्था हेरेर जिल्ला बाहिरबाट समेत थप स्थास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गर्नका लागि तयारी अवस्थामा राखिएको क्षेत्रीय स्थास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्रराज डोटेलले बताए । उनका अनुसार औषधिको समेत पर्याप्त व्यवस्था गरिएको छ । पाँच वर्षमुनीका बालबालिकाहरूमा रोगको संक्रमण देखिएको हो । बालबालिकाहरूमा सुरुमा पखाला लाग्ने, वान्ता हुने र निमोनियाको जस्तो लक्षणहरू देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको संक्रमणका कारण शनिवार राती उपचारका क्रममा तोलीजैसी– ८ मा सात महिनाका अञ्जल विक र आठ महिनाका कृष्ण विकको ज्यान गएको थियो ।
प्रकाशित मितिः   ६ फाल्गुन २०७२, बिहीबार ०७:४०