शैक्षिक प्रविधिसम्बन्धी तालिम

सुर्खेत: शैक्षिक प्रविधिसम्बन्धी पालिकास्तरीय क्षमता विकास तालिम सम्पन्न भएको छ । विश्व शिक्षाको आर्थिक सहयोग र अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतको आयोजनामा दुई जिल्लाका ६ पालिकाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरू र शिक्षकहरूलाई तालिम दिइएको हो ।

तालिममा सल्यानका शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र सिद्धकुमाख गाउँपालिका तथा दैलेखको डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका र दुल्लू नगरपालिकाका गरी १७ जनाको सहभागिता रहेको थियो । समावेशी शिक्षामा शैक्षिक प्रविधिको प्रयोग, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा समावेशिता, सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्त, शैक्षिक प्रविधिको सम्बन्ध र वर्तमान अवस्थालगायतबारे प्रशिक्षण दिइएको थियो । यसैगरी विद्यालयस्तरमा पठनपाठन गर्दा अभ्यास गरिएका अनुभवको आदानप्रदान पनि गरिएको छ ।

मानव संसाधन तथा विकास केन्द्रका निमित्त प्रमुख खिमप्रसाद ढकालले तालिमले भइरहेको सीप र ज्ञानमा वृद्धि हुने बताए । तालिमले कक्षा कोठालाई थप प्रभावकारी बनाउन सघाउने उनको भनाइ थियो । तालिमको सहजीकरण डुङ्गेश्वर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत मनबहादुर गौतम, विश्व शिक्षा काकार्यक्रम अधिकृत रविन्द्र शाह, अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतका कार्यकारी निर्देशक विष्णुप्रसाद शर्माले गरेका थिए ।

प्रकाशित मितिः   ३० चैत्र २०७९, बिहीबार ०५:०१