सत्तास्वार्थको उल्झनमा प्रदेश सरकार

राजनीतिक अस्थिरताले विकास ओझेलमा

सुर्खेत: सरकार गठन भएको एक सय दिन नपुग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दुई पटक विश्वासको मत लिइसकेका छन् । प्रदेशसभाबाट दोस्रो पटक विश्वास आर्जन गरेको दुई साता नबित्दै शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । सत्तासाझेदार दल नेकपा (एमाले) ले सोमवार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको हो ।

सुरुवाती एक सय दिनको प्रगती देखाउनुपर्ने बेलामा मुख्यमन्त्री शर्मा भने फेरि संसद्बाट आफूलाई बहुमत भएको पुष्टि गर्नुपर्ने झमेलामा परेका छन् । त्यति मात्रै होइन नयाँ समीकरणअनुसार सरकारलाई अघि बढाउनुपर्ने भएको छ । त्यसका लागि मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने छ । चालु आर्थिक वर्ष सकिँदै गर्दा र नयाँ आर्थिक वर्षको नजिकै आइपुग्दा प्रदेश सरकार भने राजनीतिक अस्थिरता र सत्तास्वार्थकै उल्झनमा अल्झिएको छ ।

केन्द्रमा राजनीतिक समीकरण बदलिएपछि कर्णाली प्रदेशको सत्तासमीकरण पनि फेरिएको छ । निर्वाचनपछि बनेको माओवादी–एमालेको समीकरण टुँगीएको छ । अब माओवादी र कांग्रेससहितको गठबन्धन सत्तासाझेदार हुनेछन् । तर यसरी छोटो समयमै फेरबदल भइरहने समीकरणले प्रदेशलाई भने नोक्सान भइरहेको जानकारहरू बताउँछन् । सरकार स्थिर नहुँदा विकास निर्माणका काम ओझेलमा पर्नुका साथै आवश्यक नीति निर्माण, विकास बजेट खर्च लगायतमा उपलब्धि हासिल हुन सकेको छैन । सुशासनकर्मी खिम रेग्मी सरकार बनाउने–ढाल्ने खेलले विकास निर्माणका काम ओझेलमा परेको बताउँछन् । स्थायी सरकार नहुँदा बेथिती बढेको उनको भनाइ छ । रेग्मी भन्छन्, ‘सरकार कति दिन वा कति महिनासम्म टिक्ने भन्ने टुँगो हँुदैन । त्यसले गर्दा आफू अनुकूलका योजना बनाउने, कार्यकर्तामुखी बजेट वितरण भइरहेको छ ।’

अघिल्लो पाँच वर्षे कार्यकालमा समेत प्रदेश सरकारले ठोस योजना विनै आफू अनुकूलका काम गरेको उनले बताए । बेला–बेला भइरहने सरकार फेरबदलले नागरिकका आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको रेग्मीको अनुभव छ । भन्छन्, ‘सरकारले महिनैपिछे विश्वासको मत लिनुपर्ने भएको छ, सुशासन र सेवा प्रवाहभन्दा राजनीतिक खिचातानीमा सरकार रुमलिएको देखिन्छ ।’

राजनीतिकर्मी मुकुन्दश्याम गिरी सरकार फेरबदल भइरहँदा विकास बजेट खर्च निराशाजनक अवस्थामा पुगेको बताउँछन् । उनी भन्छन्, ‘कर्णालीको विकास बजेट २० प्रतिशत पनि खर्च भएन । यसको सोझो कारण भनेकै अस्थिर सरकार हो । सरकारले विकास बजेटमा ध्यान दिएन । सत्ता खिचातानीमा भूल्यो ।’ सरकारपिच्छे नीति कार्यक्रम परिवर्तन हुँदा नियममा रहेर काम हुन नसकेको उनको तर्क छ । आर्थिक, सामाजिक र जनताको जनजीविकामा असर परेको उनले बताए । ‘प्रदेश सरकारका नीति, योजना, कार्यक्रम कार्यकर्तामुखी भइरहेका छन्’ गिरी भन्छन्, ‘नागरिक आधारभूत सेवाबाट वञ्चित भइरहेका छन् ।’ कर्णालीको विकासका लागि स्थिर सरकार बन्नुपर्नेमा उनको जोड छ । बारम्बार भइरहेको राजनीतिक अस्थिरता र अस्थिर सरकारले भष्ट्राचार मौलाएको भन्दै उनले बेरुजु बढेको, बजेट रकमान्तर, प्रदेश महŒवका आयोजना ओझेलमा पर्ने गरेको उल्लेख गरे ।

अर्का राजनीतिक क्षेत्रका जानकार पिताम्बर ढकाल स्थायी सरकार नहुँदा विभिन्न क्षेत्रमा नकारात्मक असर पर्ने बताउँछन् । सरकार परिवर्तन भइरहँदा अँधुरा योजना अलपत्र पर्ने गरेको उनले बताए । उनी भन्छन, ‘प्रत्येक क्षेत्रमा आफू अनुकूल मानिस नियुक्त गरिन्छ । पात्र फेरिएसँगै उनीहरूको सोच, काम गर्ने तरिकामा परिवर्तन आउँछ । ठोस योजना कार्यन्वयन हुन पाउँदैन ।’ सरकार स्थिर हुदाँ मात्र विकासको परिकल्पना गर्न सकिने उनले बताए । सरकार फेरबदल भइरहे नियमगत रूपमा योजना अनुसारको काम हुन नसक्ने, योजना तलमाथि हुने हुँदा अस्थिर सरकारले राम्रो काम गर्ला भन्ने परिकल्पनासमेत हुन नसक्ने ढकालको भनाइ छ । उनले भने, ‘राजनितिक दलले कर्णालीलाई स्वतन्त्र छोडेको भए केही अपेक्षित काम हुनसक्थ्यो । अब कर्णालीको विकास होला भन्ने आशा छैन ।’

पहिलो कार्यकालदेखि नै अस्थिरतामा अल्झिएको कर्णाली प्रदेश सरकारको दोस्रो कार्यकालमा पनि त्यसरी नै बित्ने देखिएको छ । कर्णाली प्रदेशमा दलीय भागबन्डाको खेलले सरकारको पञ्चवर्षिय योजना समेत ओझेलमा परेको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. दिपेन्द्र रोकायाले बताए । पार्टी विभाजन, मन्त्री बन्ने र बनाउने महत्वाकांक्षा अनि सरकार टिकाउन जे पनि गर्ने प्रवृतिका कारण विकास निर्माणका काम ओझेलमा परेको उनको भनाइ छ । जसले गर्दा प्रदेश महŒवका आयोजना ओझेलमा पर्ने गरेका छन् । सरकार परिवर्तन भइरहँदा अधुरा आयोजना प्राथमिकतामा नपर्नु, हचुवाको भरमा नीति योजना कार्यक्रम कार्यन्वयन गरिदा विकास बजेट झनै निराशाजनक रहेको उनको भनाइ छ । प्राथमिकता फरक, पकेटका योजना कार्यन्वयन, बेथिती बढे्को रोकाया बताउँछन् । यसको असर आर्थिक, सामाजिक, सास्कृतिक, भौगोलिक हिसाबमा समेत परेको उनले बताए ।

प्रकाशित मितिः   २८ चैत्र २०७९, मंगलवार ०५:०५