स्वास्थ्य जनशक्ति अपुग

कर्णाली प्रदेशले सुरुवातदेखि नै कर्मचारी अभाव झेल्दै आएको छ । दरबन्दीअनुसार कर्मचारी नै छैनन् । मुलुक संघीयतामा गइसक्दासम्म पनि यसको समाधान हुन सकेको छैन । प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोस्रो कार्यकालय सुरु भइसक्दासम्म पनि कर्मचारी व्यवस्थापनको समस्या हल भएको छैन । कर्मचारी अभावको समस्या अभैm पनि ज्युँका त्युँ छ । विगतदेखि नै जनशक्ति अभाव झेल्दै आएका मन्त्रालय र मातहतका कार्यालयले अहिले पनि स्वीकृत दरबन्दीअनुसार कर्मचारी पाएका छैनन् । ठूलो संख्यामा कर्मचारी अपुग देखिन्छ । प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा मात्र नभइ संवैधानिक निकायहरूमा पनि जनशक्तिको चरम अभाव छ । आवश्यक संख्यामा जनशक्ति नहुँदा प्रदेश सरकारको कार्यसम्पादन प्रभावित भएको छ । सेवा प्रवाह सहज हुन सकेको छैन । योजना कार्यान्वयनमा उल्लेख्य सफलता मिलेको छैन ।

प्रदेशमा स्वास्थ्य जनशक्तिको पनि चरम अभाव छ । स्थायी दरबन्दीतर्फ आधाभन्दा पनि कम कर्मचारी मात्रै पदपूर्ति गरिएको छ भने ठूलो संख्यामा दरबन्दी रिक्त रहेका छन् । विशेषज्ञ चिकित्सक नै निकै न्यून छन् । जनशक्ति अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा १२ हजार पाँच सय ९२ जनाको स्वास्थ्यको जिम्मा पर्ने देखिन्छ । प्रदेशमा स्वास्थ्य सेवातर्फ नौ सय नौ जना कर्मचारीको दरबन्दी छ । तर त्यसमध्ये हाल तीन सय २७ जनाको मात्रै पदपूर्ति भएको छ, पाँच सय ८२ जनाको स्थायी दरबन्दी रिक्त छ । कार्यरतमध्ये चिकित्सक एक सय ३५ जना छन् । रिक्त पदमध्ये विशेषज्ञ चिकित्सकको पद धेरै छ । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको छ । प्रदेशभर झन्डै आठ सयको संख्यामा अस्थायी र करार जनशक्ति भर्ना गरिएको छ । करार दरबन्दीमा दुई ५२ जना कार्यरत छन् भने अस्थायी र अन्य करारमा गरेर पाँच सय ४६ जना कर्मचारी छन् । कर्णालीका दशमध्ये आठ जिल्लामा जिल्ला अस्पताल छन् । त्यसबाहेक सुर्खेतमा प्रदेश अस्पताल, मेहेलकुना अस्पताल र जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

त्यसो त कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन् । दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ । जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या हुने गरेको छ । जिल्लामा नै हुनुपर्ने उपचार हुन सकेको छैन । करारको भरमा सेवा सञ्चालन भइरहेको छ । जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य प्रवाह हुन सकेको छैन । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पर्याप्त कर्मचारी नहुनु दुखद् कुरा हो ।

प्रकाशित मितिः   २७ चैत्र २०७९, सोमबार ०५:०३