जनचेतना अभिवृद्धि

क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । यो रोगबाट पीडितको संख्या ठूलो छ । सुर्खेत जिल्लामा पनि क्यान्सरका बिरामी बढेका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन्, त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या ठूलो देखिएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० मा सुर्खेत जिल्लामा दुई सय ३८ जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिनका लागि आएकाको हो । यो तथ्यांकले क्यान्सरको समस्या जटिल बनिरहेको देखाउँछ । सहजै रोग पत्ता नलाग्ने र पत्ता लागेपनि सहज उपचार नहुँदा धेरैले रोग लुकाउने गरेका छन् । तर पछिल्लो समय भने क्यान्सर रोगका बिरामी पनि खुल्न थालेका छन् ।

सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहुलियत उपलब्ध गराउने गरेको छ । उपचारमा सहुलियत पाउन थालेपछि बिरामीहरू पनि खुल्न थालेका छन् भने उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको संख्या पनि वृद्धि भएको छ । सुर्खेतका नौ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाबाट चालु वर्षमै ३६ जनाले उपचारमा सहुलियतका लागि सिफारिस लिएको गिरीले जानकारी दिए । गत वर्ष ४७ जनाले सिफारिस लिएका थिए । यसैगरी लेकवेशी नगरपालिकाबाट यो वर्ष ३० जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । विगतमा क्यान्सर रोगका बिरामी नखुल्ने र अभिलेख पनि नराख्दा संख्या यकिन हुने गरेको थिएन । तर पछिल्लो समय सरकारले उपचारमा सहुलियत दिएपछि बिरामीहरू खुलेर आउने गरेका छन् । जिल्लाको बराहताल गाउँपालिकाबाट २० जना क्यान्सरका बिरामीले उपचारमा सहुलियतका लागि सिफारिस लिएका छन् । उपचारमा सहुलियत दिन थालेपछि बिरामीको अभिलेखिकरण समेत हुन थालेको छ । पश्चिम सुर्खेतकै पञ्चपुरी नगरपालिकामा यो वर्ष १८ जना क्यान्सरका बिरामी फेला परेका छन् । यसैगरी चौकुने गाउँपालिकामा पाँच जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा २० जना क्यान्सरका बिरामीले नगरपालिकाबाट सहुलियत उपचारका लागि सिफारिस लिएका छन् भने गुर्भाकोट नगरपालिकामा १० महिला र १४ पुरुष गरी २४ जना क्यान्सरका बिरामी फेला परेका छन् । उनीहरूले उपचारका लागि नगरपालिकाबाट सिफारिस लिएका हुन् ।

बिराामीहरूमध्ये धेरैमा फोक्सो, स्तन, पाठेघरको मुख, डिम्बासयलगायतमा क्यान्सर भएकाहरू रहेको पाइएको छ । ६० प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको छ भने ४० प्रतिशत पुरुषमा समस्या देखिने गरेको छ । तर यो रोगका बारेमा सचेतनाको भने कमी देखिन्छ । क्यान्सरका बारेमा स्वास्थ्य शिक्षाको अभिवृद्धि गर्न जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २४ चैत्र २०७९, शुक्रबार ०५:०३