प्रतिपक्ष दलमा राप्रपाको दाबी

सुर्खेत: कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिपक्ष दलकमा दाबी पेस गरेको छ । सरकारलाई समर्थन गरेका अन्य सबै दल सत्तापक्ष भएको भन्दै राप्रपाले प्रदेशसभामा प्रतिपक्ष दलको हैसियत माग गरेको हो ।

प्रमुख प्रतिपक्ष दलमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएपछि राप्रपाले प्रतिपक्ष दलको हैसियतमा दाबी गरेको छ । बुधवार बसेको प्रदेशसभाको बैठकमा राप्रपाकी सांसद सन्तोषी शाहीले राप्रपालाई प्रतिपक्ष दलको सीटको व्यवस्थापन गरिदिन माग गरिन् । ‘सबै दलले सरकारको पक्षमा मतदान गर्ने, सरकारको मन्त्री भइरहने अनि ती दलहरू प्रतिपक्षको रूपमा कसरी रहन सक्छन् ?’ सांसद शाहीले प्रश्न गरिन् ।

संसदीय व्यवस्थालाई दुरूपयोग गर्न खोजिएको भन्दै उनले सरकारलाई समर्थन गरेको दल प्रतिपक्ष हुन नसक्ने बताइन् । ‘दुनियाँमा कहीँ नभएको जात्रा हाडिगाउँमा’ भनेजस्तै संसदीय व्यवस्थामा यस्तो प्रवृत्ति कहीँ पनि नभएको शाहीको भनाइ थियो । ‘सत्ता पक्ष पनि प्रतिपक्ष हुने भन्ने कुरा संविधान, ऐन, कानुन विपरीत मात्र होइन संविधानको ठाडो उल्लंघन हो,’ उनले थपिन, ‘देश विधिले चलाउन सक्नुपर्छ वास्तवमा कर्णालीको प्रतिपक्ष दल राप्रपा हो, राप्रपालाई प्रतिपक्ष दलको रूपमा सदनमा सीटको व्यवस्था होस् भन्ने माग गर्दछु ।’

सभाको विशेष समयमा बोल्दै अन्य सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेसका सांसद सुरेश अधिकारीले सरकारले मनपरी बजेट उपयोग गरेको भन्दै आलोचना गरे । सरकारका गतिविधिकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने गरेको उनको भनाइ थियो । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मनपरी रूपमा योजना बनाउने र बजेट पठाउने गरेको भन्दै यसलाई रोक्नुपर्ने अधिकारीले बताए ।

नेकपा (एमाले) का सदस्य कलबहादुर मल्लले पनि समानुपातिक रूपमा बजेट वितरण गर्न माग गरे । उनले योजनाहरू कार्यान्वयन गरेर बजेट खर्च बढाउनुपर्ने भन्दै उनले वितरण गर्दा भने सबै जिल्लाका योजना छनोट गर्ने आग्रह गरे ।

प्रकाशित मितिः   २३ चैत्र २०७९, बिहीबार ०५:०१