कामै नगरी ५० लाख भुक्तानी

पूर्वनगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत: पञ्चपुरी नगरपालिका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।

नगरपालिकाले नमुना गाउँ निर्माणका लागि भन्दै कामै नगरेर ५० लाख रूपैयाँ भुक्तानी गरेको पाइएको छ । उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले नमुना समाज सुर्खेत नामक संस्थासँग सम्झौता गरी रकम भुक्तानी गरेको अख्तियारले जनाएको छ । सोही मुद्दामा अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख थापाविरुद्ध ५० लाख बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

थापासहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख बिगो दाबी गरिएको छ भने अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध ५० लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जीएम तथा नमुना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा ५० लाख रूपैयाँ बिगो कायम गरी सजाय हुन र बिगो रकमसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारका अनुसार नमुना समाज सुर्खेतसँग सम्झौता बमोजिमको कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको कुनै बैठकसमेतबाट निर्णयसमेत भएको छैन । त्यति मात्रै होइन उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्तावसमेत माग नगरेको तर सम्झौता गरेर रकम भुक्तानी गरेको पाइएको छ । जसले गर्दा संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन÷नियमावलीलगायतका प्रचलित कानुनसमेतलाई बेवास्ता गरेको अख्तियारले उल्लेख गरेको छ । सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र विश्वसनीयता रहे÷नरहेको आधारविना हचुवाको भरमा नमुना समाजले सम्झौताबमोजिम रकम खर्च गरी फिल्डमा कार्य सम्पादन गरेको अनुगमन, मूल्याङ्कन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन निर्देशन दिएको र नमुना समाजले सम्झौता विपरीत कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर ठहर भएको आयोगले दाबी गरेको छ ।

नमुना समाजले पञ्चपुरीमा मात्रै होइन सुर्खेतका अन्य पालिकाबाट पनि यसरी रकम असुलेको थियो । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका, चिंगाड गाउँपालिका र सिम्ता गाउँपालिकाबाट समेत रकम लिएको जनाइएको छ । नमुना गाउँ निर्माणका लागि पेश्की रकम लिएर संस्थाले काम नगरेको भन्दै ती पालिकाहरूले कारबाही गर्न माग गरेका थिए । समाजले विभिन्न पालिकाबाट गरेर दुई करोड २० लाख रूपैयाँ भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

स्थानीय तहहरूले स्रोतको सुनिश्चितता नगरेरै नमुना समाजसँग सम्झौता गरेर पहिलो वर्षको पेश्की रकम भुक्तानी गरेका थिए । नमुना समाजले स्थानीय तहहरूसँग तीन वर्षे सम्झौता गरेको थियो । सम्झौता अनुसार स्थानीय तहहरूले ३० प्रतिशत र नमुना समाजले ७० प्रतिशत रकम व्यहोर्ने उल्लेख छ ।

प्रकाशित मितिः   २२ चैत्र २०७९, बुधबार ०५:०५