संसद्मा दुई विधेयक प्रवेश
सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो पटक विधेयकले प्रवेश पाएका छन् । आइतवार बसेको प्रदेशसभाको दशौं बैठकमा कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको हो ।
खेलकुद विकाससम्बन्धी विधेयक सामाजिक विकास मन्त्री टेकराज पछाईंले पेस गरेका हुन् भने प्रशिक्षण विधेयक आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले पेस गरे । दुवै विधेयकहरू यसअघिनै सचिवालयमा दर्ता भएका थिए ।
दुई वटा विधेयकले प्रवेश पाएसँगै प्रदेशसभाको नयाँ अधिवेशनले कानुन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । सभामुख नन्दा गुरुङले दुवै विधेयकमाथि मतविभाजनमार्फत संसदमा प्रवेशका लागि अनुमति दिएकी हुन् । दुई वटा विधेयक पेस गरिएपछि अर्को बैठक भने चैत २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।
दोस्रो कार्यकालका लागि प्रदेशसभा आरम्भ भएको तीन महिना भइसक्दासम्म पनि नयाँ विधेयक पेस हुन सकेको थिएन । सरकारले विजनेश नदिँदा लामो समय अधिवेशन नै स्थगित भएको थियो । अर्कोतर्फ अहिलेसम्म प्रदेशसभाका विषयगत समितिहरूको गठन समेत हुन सकेको छैन । विषयगत समिति मात्रै होइन बैठकको प्राथमिकता र समयावधि निर्धारण गर्ने कार्यव्यवस्था समितिसमेत गठन हुन सकेको छैन । अहिले सर्वदलीय बैठकबाट सभाको कार्यसूचि निर्धारण गर्ने गरिएको छ । नियमावलीअनुसार तीन महिनाभित्रै समिति गठन गरिसक्नुपर्ने भएपनि कर्णालीमा ढिलाइ भएको छ ।
प्रकाशित मितिः २० चैत्र २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।