सरकारमा जाने कुरै भएको छैन
कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई समर्थन जनाएपनि कांग्रेस सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय अनिश्चित छ । कर्णालीमा अहिले माओवादी र नेकपा (एमाले) सरकारमा छन् । एमालेसहितको समर्थनमा सरकारसँग पर्याप्त मत हुँदाहुँदै विश्वासको मत दिएको कांग्रेस अब सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ ? सत्तासहकार्यका विषयमा कुनै छलफल भएको छ ? यिनै प्रश्नहरूको सेरोफेरोमा रहेर संवाददाता रजनी योगीले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग गरेको संक्षिप्त कुराकानीः
- सरकारलाई विश्वासको मत दिनुभयो, कांग्रेस अब सरकारमा जान्छ ?
हामीले सरकारमा जान्छौँ भनेर मत दिएको होइन । जाने–नजाने भन्ने कुरा पार्टीको केन्द्रीय निर्णयमा निर्भर हुन्छ । केन्द्रमा कांग्रेससहितको गठबन्धनको सरकार छ, त्यसैले केन्द्रकै निर्णयअनुसार प्रदेशमा पनि विश्वासको मत दिएका हौँ । पहिले केन्द्रमा गठबन्धन थिएन त्यसैले प्रदेशमा पनि हामीले विश्वासको मत दिएनौँ । तर अहिले सरकारमा जानलाई दिएको होइन, समर्थन गर्दैमा गैहाल्नुपर्छ भन्ने पनि छैन । एमालेसँगको सहकार्यमा उहाँहरू (माओवादी) ले सरकार हाँकिरहनु भएको छ ।
- सत्तासहकार्यको विषयमा माओवादीसँग कुनै छलफल भएको छ ?
भएको छैन । सत्ता समीकरणका लागि माओवादीसँग कुनै छलफल र वार्ता केही पनि भएको छैन । हामीसँग बसेर कुनै कुरासमेत भएको छैन । मलाई लाग्छ नेतृत्वकर्ताले नै नचाहेर हो । यो विषयमा त सरकारको नेतृत्व गर्ने दलले सोच्नुप¥यो नि, हामीले भन्दा पनि । उहाँहरू नै बढी जिम्मेवार हो ।
- एमालेलाई सरकारबाट हटाएर कांग्रेस सरकारमा सहभागी हुने हो कि ?
हामीले हटाऊ भन्न मिलेन । उनीहरूले हटाउँछन् कि के गर्छन् ! कर्णालीमा अब कम्युनिष्टहरू एक हुन्छौँ भन्छन् कि ! यो सत्ताधारी दलको कुरा भयो । हामीले कसैलाई फाल, हामी सत्तामा आउँछौ भनेका छैनौँ । सरकारमा सहभागी हुने वा नहुने कुरा केन्द्रको निर्णयमा पनि भर पर्छ । हामी सत्ताका लागि मरिहत्ते गर्दैनाैँ । सरकारलाई विश्वासको मत दिएकै आधारमा एमालेलाई हटाएर सरकारमा जाने भन्ने कुरा हुँदैन । माओवादीले पुरानै समीकरणअनुसार सरकार बनाउँछु भन्दा हामीलाइ भन्नु केही छैन । कसैलाई हटाऊ हामी सहकार्य गर्छौं भनेको अवस्था छैन ।
- कांग्रेस, माओवादी र एमालेसहितको सरकार बन्ने सम्भावना रहन्छ ?
संसदीय व्यवस्थामा त्यस्तो सम्भावना हुन्छ र ? विना प्रमुख प्रतिपक्ष दलको ? जो भएपनि एउटा त बस्नुप¥यो नि । त्यसकारणले त संसदीय व्यवस्था बनेको होइन र ? यदि प्रतिपक्षविना सरकार बन्यो भने त निरंकुश हुने भइगो त, होइन र ? विनाप्रतिपक्षको सरकार हुँदैन । संसदीय व्यवस्था अनुरूप प्रमुख प्रतिपक्ष हुनैपर्छ । कहीँ नभएको अभ्यास हामीले गर्छौं भन्नू मुर्खता हुन्छ ।
- विश्वासको मत दिँदा सरकारको नेतृत्व बा“ड्ने विषयमा माओवादीस“ग छलफल भएको हो ?
त्यस्तो कुनै कुरा भएको छैन । कुनै छलफल, यताउता केही पनि भएको छैन । केन्द्रमा पनि समीकरण भएको छ र यही प्रदेशका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको हुनाले हामीले प्रदेश सरकारलाई विश्वासको मत दिएको हो । हामीले नदिएर पनि केही फरक पर्ने त थिएन, उहाँहरूको बहुमत छँदै थियो क्यारे । अब उहाँहरूको कुरा छ, हाम्रो कुरा केही छैन । कुनै सर्त राखेर हामीले विश्वासको मत दिएको होइन । उहाँहरूले के देख्नुहुन्छ, माथि केन्द्रका नेताहरूले के भन्छन् त्यसैमा भर पर्छ ।
- अहिलेको सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
सरकार बनेको तीन महिना भयो । अहिलेसम्म गरेको केही पनि देखिँदैन । पहिला सुरुवात गरेका कामहरू हामीले ग¥यौँ भन्ने छ । सरकारले हाजिरी लगाउनेबाहेक खासै देखिनेगरी काम गरेको देखिँदैन । पहिला जुनखालको सिस्टममा काम भइरहेको थियो, अहिले त त्यस्तो पनि देखिँदैन । सुशासनका भाका गाउने तर आफै त्यसमा चुक्ने काम भइरहेको छ । अहिलेको सरकारले बोल्ने एउटा, काम गर्ने अर्को भइरहेको छ । सरकारको नयाँ काम भनेको दश हजारलाई रोजगारी दिने भनेको छ । अहिलेसम्म दश जनालाई दिएको देखिँदैन । सबै कुरा पुरानो छ । रंगशाला हेर्नुस् वा सडकहरू, हरेक कार्यक्रम पुरानै देख्छु म त । सरकारले कर्णालीमा तीन महिनामा देखिने खालको काम गरेजस्तो लाग्दैन । यो प्रतिपक्ष हो भनिहाल्छ भन्ने पनि होला, तपार्इंहरूले पनि केही भएको देख्नु भएको छ र ?
प्रकाशित मितिः १९ चैत्र २०७९, आईतवार ०५:०५
रजनी याेगी ।