मुख्यमन्त्री शर्मालाई विश्वासको मत

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र (राप्रपा)बाहेकका दलहरूले समर्थन गरेका हुन् । नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहित एक जना स्वतन्त्र सांसदले शर्मालाई विश्वासको मत दिएका छन् ।

अघिल्लो पटक साथ दिएको राप्रपाले समर्थन फिर्ता लिएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको छ । शुक्रवार दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ । अन्य सबै दलले उनलाई समर्थन गर्दा एक जना सांसद रहेको राप्रपाले मात्रै विपक्षमा मतदान गरेको हो । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा ४० मध्ये २५ सांसदको मत पाएका थिए । त्यतिबेला कांग्रेसले शर्मालाई विश्वासको मत दिएको थिएन । त्यतिबेला सरकारलाई संकट परेको खण्डमा समर्थन गर्ने भन्दै उनको विपक्षमा मतदान गरेको कांग्रेसले यसपटक भने शर्मासँग आवश्यक बहुमत हुँदाहुँदै पनि समर्थन गरेको छ ।

एमाले सरकारमा हुँदै कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि सत्तासमीकरण कस्तो बन्छ भन्ने अन्योल बढेको छ । केन्द्रीय समीकरणअनुसार एमाले सरकारबाट बाहिरिएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेको समयमा प्रदेशमा भने एमाले र माओवादीले सरकार चलाइरहेका छन् । यसले गर्दा कर्णालीमा कांग्रेस सरकारमा सहभागी हुने विषय अनिश्चित छ । माओवादी नेताहरू कांग्रेस र एमालेसहितको सरकार बनाउने बताउँदै आएका छन् । तथापी कांग्रेसका नेताहरूका अनुसार केन्द्रीय नेतृत्वको निर्देशनअनुसार सरकारलाई समर्थन गरेको र सरकारमा सहभागी हुने विषय पनि केन्द्रकै निर्णय अनुसार हुने बताउँछन् ।

संघीय सरकारमाजस्तै एमाले सरकारबाट बाहिरिने आकलन गरिएपनि कर्णालीमा भने एमालेले सरकार नछोड्ने भएको छ । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीको परिस्थितिअनुसार अहिले सरकार छोड्नुपर्ने कारण नभएकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको जनाए । एमाले सकेसम्म माओवादीसँगको सत्तासहकार्य कायम राख्न खोजिरहेको छ । सरकारको नेतृत्व आधाआधा कार्यकाल बाँड्ने सहमति भएकाले पनि एमाले यो सरकारलाई निरन्तरता दिएर दुई वर्षपछि आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ ।

कांग्रेस र एमालेसहितको समर्थनले ९० प्रतिशत बढी मत आफ्नो पक्षमा पारेका मुख्यमन्त्री शर्मालाई दुवै दलसँग सहकार्य गरेर सरकार चलाउन सहज भने हुनेछैन । प्रदेश सरकारको आगामी समीकरण पनि माओवादीकै निर्णयमा निर्भर रहनेछ । मुख्यमन्त्री शर्मा कर्णालीको समृद्धिका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने बताउँछन् । शुक्रवार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै उनले गरिबीविरुद्धको लडाइँमा सबैको हातेमालो जरुरी रहेको बताएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकार सुरुवातमै अलमलिएको टिप्पणी गरेका छन् । सरकारकै प्राथमिकता र प्रदेश गौरवको योजना नै अलपत्र परेको भन्दै उनले लक्ष्य अनुसार अघि बढ्न नसकेको बताए । शाहीले जलस्रोतको सम्भावना रहेको प्रदेशमा ऊर्जा मन्त्रालयलाई गुमनाम राखिदा सरकारको लक्ष्य अधुरो हुने समेत जनाए । ‘कर्णालीले दिन सक्ने ऊर्जा, जहाँ प्रदेश सरकारको लगानी न्यून छ । मन्त्रालय नै बेकामे बनाइयो’ उनले भने ।

संघीयताको औचित्य पुष्टि गर्नका लागि पनि कर्णालीमा प्रमुख तीन दल मिलेर सरकार चलाउन सकिने बताउँछन् राजनीतिक क्षेत्रका जानकार पिताम्बर ढकाल । केन्द्रीय नेतृत्वको स्वार्थअनुसार प्रदेश सरकार पनि फेरबदल हुँदा संघीयताको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले गम्भिर हुनुपर्नेमा जोड दिए । प्रदेशको आवश्यकता र सहमतिको आधारमा सबैलाई समेटेर सरकार बनाउन सकिने उनी बताउँछन् । ‘कर्णाली सरकारले प्रदेशको छुट्टै समीकरण बनाएर अघि बढ्ने बाटो छ । एमाले सरकामै छ । कांग्रेसका विश्वासको मत जित्नुप¥यो’ ढकालले भने । कर्णालीको सम्वृद्धिका लागि सबै दल मिलेर अघि बढ्नुको विकल्प नहुने उनको भनाइ छ ।

प्रकाशित मितिः   १८ चैत्र २०७९, शनिबार ०५:०५