मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिने

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिने भएका छन् । यसअघि उनलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिनुपर्ने भएको हो ।
विश्वासको मत लिने प्रयोजनका लागि बुधवार प्रदेशसभामा पत्र दर्ता गराएको छ । पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार यही चैत १७ गते विश्वासको मत लिने सरकारका प्रवक्तासमेत रहेका कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । मुख्यमन्त्री शर्माले दर्ता गरेको पत्रमा संविधानको धारा १८८ को उपधारा दुई बमोजिम प्रदेशसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।
यसअघि उनले ६ माघमा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई माओवादीसहित नेकपा(एमाले) नेकपा(एकीकृत समाजवादी) र राप्रपाले समर्थन गरेका थिए । शर्मा नेतृत्वको सरकारमा अहिले एमाले र माओवादी छन् । दुई दलले ३÷३ मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।
संघीय सरकार र अन्य प्रदेशमा सत्तासमीकरण बदलिएपनि कर्णालीमा भने फेरिएको छैन । पुरानै समीकरणलाई अघि बढाउने वा नयाँ बनाउने भन्ने विषयमा दलहरू निर्णयमा पुग्न सकेका छैनन् । यद्यपि, माओवादीले भने सबै दललाई समेटेर सरकार बनाउने बताउने गरेको छ । सरकारका प्रवक्ता जिसीले सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने पहल थालिने बताए । यसका लागि औपचारिक रूपमा छलफल नभएपनि अनौपचारिक रूपमा छलफल भएको दाबी उनको छ । ‘यसअघि एमालेले समर्थन जनाएकै छ, माथि एक खालको समीकरण बन्यो,’ जिसीले भने, ‘सकेसम्म कांग्रेस, माओवादी र एमाले मिलेर नै सरकार बनाउने पहल हुन्छ, बाँकी कुरा त पछि नै थाहा होला ।’
कर्णालीमा नेपाली कांग्रेसका १४, माओवादीमा १३, एमालेका १० सांसद छन् भने एकीकृत समाजवादी, राप्रपासँग १÷१ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
प्रकाशित मितिः १६ चैत्र २०७९, बिहीबार ०५:०१

साझा बिसौनी ।