सात सय परिवारलाई लालपूर्जा

सुर्खेत: भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतले जग्गाधनी पूर्जा (लालपूर्जा) वितरणलाई तीव्र पारेको छ । काम सुरु गरेको एक वर्षमा सात सयभन्दा बढी परिवारलाई स्थायी पूर्जा वितरण गरिएको आयोगका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए ।

तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपूर्जा उपलब्ध गराएको हो । हालसम्म जिल्लाका पाँच वटा स्थानीय तहका सात सय १४ परिवारलाई पुर्जा वितरण गरिएको अध्यक्ष पौड्यालले जनाए । उनका अनुसार पश्चिम सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुने तथा पूर्वतर्फ गुर्भाकोट र भेरीगंगाका केही परिवारलाई पूर्जा प्रदान गरिएको छ । पछिल्लो पटक चैत १२ गते गुर्भाकोट नगरपालिका वडा नं. ८ का एक सय ५१ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

सुरुवाती चरणमा जिल्लाका पाँच वटा पालिकाहरूमा केहीलाई मात्रै पूर्जा वितरण गरिएको हो । प्रक्रिया पूरा गरेर अन्यलाई पनि चाँडै वितरण गर्ने तयारीमा आयोग रहेको छ । अध्यक्ष पौड्यालका अनुसार चौकुने गाउँपालिका र गुर्भाकोट नगरपालिकामा थप पूर्जा प्रदानका लागि अन्तिम चरणको काम भइरहेको छ । प्रक्रिया पूरा भएपछि अबको केही दिन भित्रैमा पूर्जा वितरण गरिने छ ।

जिल्लाका अन्य चार पालिकामा भने पूर्जा वितरण हुन सकेको छैन । ति स्थानीय तहमा फाइल तयार गर्ने, जग्गा नापजाँच लगायतको काम भइरहेको पौडेलले जानकारी दिए । सबै काम सकिएपछि तत्कालै पूर्जा वितरण गरिनेछ । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १६ मा जग्गा नापजाँचको काम सुरु भएको छ । यसैगरी नगरपालिकाको वडा नं. ९ मा बाँकी रहेका अधुरा कामको फाइल तयार पार्ने काम सुरु भएको आयोगले जनाएको छ । वडाबाट फाइल तयार गरी कार्यपालिकामा पेस गरेर कार्यपालिकाले भूमि आयोगमा पठाउनेछ । आयोगले प्राविधिक परिचालन गरी फिल्ड अनुगमन गरेपश्चात् सात दिने सूचना जारी भएपछि पूर्जा वितरण हुने जनाइएको छ ।

चौकुने, पञ्चपुरी, बराहताल, भेरीगंगा, र गुर्भाकोटका बाँकी भूमिहीनका साथै वीरेन्द्रनगर, लेकेवेशी, चिङ्गाड, सिम्तालगायतका स्थानीय तहमा यसअघि अधुरा रहेका कामको फाइल तयार तथा यथार्थ विवरण संकलनको काम भइरहेको अध्यक्ष पौड्यालले बताए । उक्त पालिकामा स्थगलत अनुगमनको काम अघि बढेको छ । पञ्चपुरी नगरपालिका वडा नं. ११ मा पनि तत्काल पूर्जा वितरण गरिने पौड्यालको भनाइ छ ।

अव्यवस्थित बसोबास, भूमिहीन दलित, सुकुम्वासी र यसअघि अधुँरा छोडेका कार्यहरू अहिले आयोगको जिल्ला समितिले गरिरहेको छ । नापजाँच भएर अधुँरा रहेका जग्गाको लालपूर्जा वितरणको काम भइरहेको हो । अधुरा रहेका काम सकेर अव्यवस्थित बसोबासको व्यवस्थापन तथा लालपूर्जा दिने कार्य सुरुवात गर्ने तयारी आयोगले गरेको छ । उक्त काम भने सदरमुकाम वीरेन्द्रनगरबाट गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । अव्यवस्थित बसोबासको व्यवस्थापन तथा लालपूर्जा दिने प्रक्रियाको सुरुवात वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ बाट अघि बढाइने उनले बताए । सुर्खेतमा सबैभन्दा बढी अव्यवस्थित बसोबासको समस्या छ । उनले भने, ‘विगतमा रहेका अधुरा कामको पूर्जा वितरण गरिसकेपछि बाँकी रहेका अव्यवस्थित बसोबासका काम सुरु हुन्छ । यस कामको सुरुवात वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १६ बाट गरिनेछ ।’

अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्वासीका गरी झन्डै ४८ हजार निवेदन संकलन भएका थिए । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुर्खेतमा गरेको लगत संकलनको क्रममा उक्त संख्यामा निवेदन परेका हुन् । तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका छन् । पहिलो चरणमा नापजाँच भएर बाँकी रहेका जग्गाको लालपुर्जा वितरण भइरहेको आयोगका अध्यक्ष पौड्यालले जानकारी दिए । अब अव्यस्थित बसोबासको पूर्जा वितरणको कामको पनि सुरुवात गरिने बताइएको छ । लामो समयदेखि अलपत्र पूर्जा वितरणको कामले अहिले भने गति पाएको छ ।

प्रकाशित मितिः   १५ चैत्र २०७९, बुधबार ०५:०५