विशेष समयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद

सुर्खेत: कर्णाली प्रदेशसभा सदस्य गमता विकले कर्णालीवासी आधारभूत अधिकारबाटै वञ्चित भएको बताएकी छिन् । आइतवार बसेको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै विकले नागरिक नाना, छाना र खानाको अभावमा रहेको बताइन् । सरकारका कार्यक्रम गरिबीको रेखामुनी रहेकालाई केन्द्रमा राखेर बनाउनुुपर्ने उनको सुझाव छ । सरकारले घरछेउमै दिनुपर्ने सेवाबाट नागरिक वञ्चित भइरहेको भन्दै निम्न वर्गका नागरिकको स्वास्थ्य र शिक्षामा पहुँच पुग्नेगरी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरिन् ।

अर्का प्रदेशसभा सदस्य घनश्याम भण्डारीले कर्णाली राजमार्गमा दिनहूँ दुर्घटना हुँदा मानविय क्षति हुने गरेको बताए । सामान्य वर्षातमा पनि यात्रा गर्न सकस हुने कर्णाली राजमार्गमा आवश्यक मर्मत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । वीरेन्द्रनगर नगरपालिकाका केही चोकहरूमा आकाशे पुल आवश्यक रहेको समेत उनले बताए ।

त्यसैगरी सदस्य कलबहादुर हमालले कर्णालीको मुख्य शत्रु रोग, भोक र गरिबी भएको बताए । पाठ्यपुस्तकविना नै बालबालिकाले परीक्षा दिनुपर्ने, स्वास्थ्य उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य नभएको भन्दै उनले सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । सरकारले विपन्न वर्गका बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क स्वास्थ्य उपचारको हुनुपर्र्ने बताए ।

प्रदेशसभा सदस्य शेरबहादुर बुढाले पूर्वाधार निर्माणमा सरकारको ध्यान जान नसकेको बताए । उनले सबै नागरिकलाई विद्युतको पहुँमा पु¥याउनका लागि राष्ट्रिय प्रसारण लाइनलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरे । स्वास्थ्यको पहुँच नागरिकमा पुग्न नसकेको, सरकारले कम बजेट विनियोजन गर्दा नागरिकले सेवा नपाएको उनको भनाइ थियो । बुढाले भने, ‘अब रकम विनियोजन गर्दा नागरिकका आधारभूत आवश्यकतालाई ध्यान दिनुपर्ने हुन्छ ।’

रनसिंह परियारले कर्णालीवासी रोग, भोक र अशिक्षाले ग्रसित बनेको बताए । गरिबीको रेखामुनी रहेकाहरूको आर्थिक अवस्था खस्कदो रहेको भन्दै नागरिकको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए । बाढी र पहिरोले ग्रसित संरचनाहरू पुनःनिर्माण गर्न उनको सुझाव छ । ‘भौतिक संरचनाको पुनःनिर्माणमा के भइरहेको छ ? सरकारले जवाफ दिनुपर्छ’ परियारले भने, ‘चैतमा परेको असिना पानीले कृषकले लगाएको बालीमा क्षति पुगेको छ । क्षतिपूर्ति सरकारले दिनुपर्छ ।’ जनताको समस्या समाधान हुनेगरी प्रदेश सरकारले केही व्यवस्था गर्न आग्रह गरेका थिए ।

सन्तोषी शाहीले सत्ता र पद केन्द्रित सरकारले नागरिकमुखी काम गर्न नसकेको बताइन् । जनताको स्वतन्त्रतालाई बन्देज गरेर, मुख थुनेर बोल्न नदिने, तानाशाही प्रवृत्ति सरकारले अपनाएको शाहीको भनाइ थियो । भ्रष्टाचारको केन्द्रको रूपमा रहेको अहिलेको शासन प्रणाली जनतामुखी हुन नसकेको उनको जिकिर थियो ।

प्रदेशसभा सदस्य कल्याणी खड्काले सरकारले कार्यक्रम धेरै बनाए पनि कार्यान्वयन न्यून मात्रै हुने गरेको बताइन् । ‘राज्यको स्रोतमा धेरै पूर्वाधार निर्माण गरिएको भएपनि नागरिकको प्रयोगमा आउन सकेका छैनन्’ उनले भनिन्, ‘रूकुम र कालीकोटको विमानस्थल सञ्चालन हुनुप¥यो । सरकारले त्यसमा चासो दिनुुप¥यो ।’

दुई महिनापछि बसेको प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने सदस्यहरूले विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सभाको अर्को बैठक चैत १४ गते मंगलवारका लागि बोलाइएको छ ।

प्रकाशित मितिः   १३ चैत्र २०७९, सोमबार ०५:०२