दुर्घटनामा तीन जनाको मृत्यु

दैलेख: एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधवार बिहान पौने ९ बजे भे १ क २२०१ नम्बरको ट्रक तालपोखरी नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो । ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको थियो । दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको हो । सहचालक प्रकाश कुमाई भने सकुशल छन् । ‘ट्रक रोकेपछि उनी ओट हाल्न निस्किएका रहेछन्, ओट हाल्न नपाउँदै ट्रक खसेछ,’ डिएसपी लम्सालले भने ।

प्रकाशित मितिः   ९ चैत्र २०७९, बिहीबार ०५:०१