प्राथमिक तहमै पढाइ छोड्छन् दलित बालबालिका
सुर्खेत: अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा आइतवारदेखि कक्षा ९ को वार्षिक परीक्षा सुरु भएको छ । तर उक्त कक्षामा भर्ना भएकामध्ये सात जना विद्यार्थी परीक्षा दिन आएनन् । सातमध्ये पाँच जना दलित समुदायका बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जनाए । यो त एक दृष्टान्त मात्रै हो, हरेक वर्ष बीचमै पढाइ छोड्ने दर हेर्दा धेरैजसो दलित समुदायका बालबालिका हुने गरेको उनको भनाइ छ । आर्थिक रूपमा विपन्न, सिकाई उपलब्धी कमजोर भएका बालबालिकाले बीचमै पढाइ छोड्ने गरेका हुन् ।
यस्तै दैलेखको दुल्लू नगरपालिका–१० भाल्कका ४५ वर्षीय भीम वि.क का तीन छोरी र दुई छोरा गरी पाँच सन्तान छन् । अहिलेसम्म उनका कुनै पनि सन्तानले एसईई उत्तीर्ण गरेका छैनन् । कक्षा ५ सम्म गाउँकै इन्द्रज्वाला आधारभूत विद्यालयमा पढेका उनका छोराछोरीले त्यसभन्दा माथि पढेनन् । छोरीको विवाह भइसकेको छ भने छोराहरू मजदुरीका लागि भारत गएका छन् ।
भाल्कमा तीन दर्जन बढी दलित परिवारको बसोबास छ । तर उक्त बस्तीबाट एसईई उत्तीर्ण गर्नेको संख्या ६ जना मात्रै छ । अन्य कसैले पनि माध्यमिक तहको पढाइ पूरा गरेका छैनन् । ४० घरधुरी रहेको भाल्कस्थित दलित बस्तीमा तीन छात्रा र तीन छात्रले मात्र माध्यमिक तहसम्मको अध्ययन गरेका छन् । अधिकांश दलित विद्यार्थीहरू प्राथमिक तहमै पढाइ छोड्ने गरेको पाइएको छ । युवाहरूबीचमै पढाइ छोडेर ज्यालामजदुरीका लागि भारत जाने गरेको स्थानीय रतन नेपालीले बताए । गरिबीका कारण पढाइ पूरा गर्न समस्या हुने गरेको उनको भनाइ छ । ‘घरखर्च टार्नकै लागि मजदुरी गर्न भारतमा जानुपर्ने बाध्यता छ । गाउँमा रोजगारी पाइदैन’ नेपालीले भने ।
कक्षा १ मा दलित बस्तीका सबै बालबालिका विद्यालयमा भर्ना हुने गरे पनि माथिल्लो कक्षा उक्लिदै जाँदा पढाइ छोड्ने गरेको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज खड्काले बताउँछन् । ‘छोराछोरीलाई उच्च तहसम्म पढाउनुपर्छ भन्ने अभिभावकको चेतनासमेत छैन’ उनले भने, ‘कक्षा उत्तीर्ण हुन नसक्दा पनि दलित बालबालिकाले पढाइ छाड्ने प्रवृत्ति छ ।’ आर्थिक उपार्जनका लागि दलित बस्तीका विद्यार्थीहरू आधा पढाइ छोडेर ज्यालादारी काममा जाने प्रवृत्ति बढेको छ । खड्का भन्छन्, ‘अभिभावकसँगै बालबालिका पनि भारतमा जान्छन् । अभिभावकमा जनचेतना समेत छैन ।’
दुल्लू नगरपालिका–१० कै मेला दलित बस्तीमा २२ घरपरिवार छन् । त्यहाँका बालबालिका पनि पढाई पूरा नगरी बिचमै छोड्ने गरेका छन् । कक्षा ५÷६ सम्म पढेपछि विद्यालय छाड्ने गरेको पाइन्छ । पढाइ छोडेर अधिकांश विद्यार्थी मजदुरी गर्न भारत जाने गरेका छन् । उनीहरू सबैले माध्यमिक तह पूरा नगरी पढाइ छोडेको प्रधानाध्यापक खड्का बताउँछन् । आमाबाबु शिक्षित नहुँदा घरमा पनि पढ्न नपाउने, आर्थिक अवस्था कमजोर हुँदा अधिकांशलाई सानो उमेरमै घरधन्दामा व्यस्त हुनुपर्ने बाध्यता पनि छ । विद्यालय टाढा नभए पनि विद्यालयमा भर्ना भएका दलित बालबालिकाको पढाइ नियमित नहुने समस्या रहेको छ ।
अभिभावकको भूमिका कमजोर हुदाँ बालबालिकाले बीचमै पढाइ छोड््ने गरेको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धीरेन्द्रप्रसाद लम्साल बताउँछन् । आर्थिक अवस्था कमजोर हुनु, परिवारकै भूमिका बलियो नहुँनु, जनचेतनाको कमी लगायतले बीचमै पढाइ छोडने दर बढेको उनले जानकारी दिए । माध्यमिक तहमा बीचमै पढाइ छोड्ने दरमा वृद्धि भएको लम्सालको भनाइ छ ।
वीरेन्द्रनगरमा शैक्षिक सत्र २०७८ को तथ्याङ्कअनुसार प्राथमिक तह (कक्षा १–५ सम्म) मा दुई दशमलव पाँच प्रतिशत विद्यार्थीले बीचमै पढाइ छोडेका छन् । प्राथमिक तहमा अध्ययन गर्ने एक सय जना विद्यार्थीमध्ये तीन जना विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेका हुन् । यसैगरी आधारभूत तह (कक्षा १–८ सम्म) का तीन दशमलव ६ प्रतिशतले बीचमै पढाइ छोड्छन् भने माध्यमिक तह (९–१०) मा पाँच दशमलव चार प्रतिशतले बीचमै पढाइ छोड्ने गरेका छन् ।
कर्णाली प्रदेशमै यसरी बीचमै पढाइ छोड्ने दर उच्च छ । शैक्षिक सत्र २०७८ को शैक्षिक तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार दशमलव सात प्रतिशतले बीचमै पढाइ छोडेका छन् । कक्षा १ मा चार दशमलव पाँच प्रतिशत, कक्षा दुईमा तीन दशमलव चार, कक्षा तीनमा दुई दशमलव चार, कक्षा चारमा दुई दशमलव तीन र कक्षा ५ मा दुई प्रतिशतले बीचमै पढाइ छोडेका हुन् । प्रदेशभर कक्षा १–५ सम्म बीचमै पढाइ छोड्ने दर तीन दशमलव एक प्रतिशत रहेको छ । यसैगरी कक्षा ६ मा दुई दशमलव तीन प्रतिशतले बीचमै पढाइ छोडेका छन् भने कक्षा ७ मा तीन दशमलव चार र कक्षा ८ मा तीन दशमलव ६ प्रतिशतले पढाइ पूरा नगरेरै विद्यालय छोडेका छन् ।
बीचमै पढाइ छोड्ने बालबालिकामा गरिब दलित परिवारका बालबालिका बढी हुने गरेको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले बताए । रोजगारीका लागि अभिभावकसँगै बालबालिका भारत जाने, आर्थिक अवस्था तथा सिकाई उपलब्धी कमजोर हुदाँ बीचमै पढाइ छोड्ने गरेको उनको भनाइ छ ।
प्रकाशित मितिः ७ चैत्र २०७९, मंगलवार ०५:०५
साझा बिसौनी ।