विपद्‍मा उदासीन स्थानीय सरकार

बर्सेनि आगलागी, पूर्वतयारीमा बेवास्ता

सुर्खेत: गर्मीयाम सुरु भएसँगै कर्णाली प्रदेशमा आगलागीका घटना हुन थालिसकेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर ६२ वटा आगलागीका घटना भएका छन् । जसबाट दुई पुरुष र एक बालिका गरी तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ४३ घरमा भौतिक क्षति पुगेको छ । तर प्रदेशका स्थानीय सरकारले भने यसतर्फ चासो नै दिएका छैनन् । आगलागीबाट भौतिक तथा मानविय नोक्सानी भइरहे पनि स्थानीय सरकार यसप्रति गम्भीर बनेका छैनन् । प्रतिकार्य योजनामा पालिकाहरूले बेवास्ता गर्दै आएका छन् । विपद्पूर्वका तयारी र क्षति न्यूनीकरणमा अधिकांश पालिकाहरू उदासीन भएका हुन् ।

दैलेखमा गर्मीयाममा बर्सेनि आगलागीका घटना हुँदा जनधनको क्षति हुँदै आएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये नारायण नगरपालिकामा मात्रै अग्नि नियन्त्रक (दमकल) खरिद गरी सञ्चालनमा ल्याइएको छ । अन्य १० पालिकामा भने दमकल छैनन् । ती पालिकाका बस्तीहरूमा आगलागी हुँदा क्षति बढी हुने गरेको छ । बस्तीका सबै ठाउँमा सडक नपुगेका कारण दमकल खरिद प्राथमिकतामा पर्न नसकेको नौमुले गाउँपालिकाका अध्यक्ष छबिराम सुवेदीले बताए । उनले भने, ‘बजार क्षेत्रमा दमकल आवश्यक हो । पर्याप्त बजेट नहुँदा खरिद गर्ने सोच बनेको छैन ।’ सडक सञ्जाल पुगेका र बजार क्षेत्रका बस्तीमा भने दमकलको आवश्यता महशुस गरिए पनि आर्थिक अभावले योजनासमेत बनेको देखिँदैन ।

जुम्लामा पनि हरेक वर्ष आगलागीका घटना हुँदा ठूलो जनधनको क्षति हुने गरेको छ । तर आवश्यक सतर्कता नभएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी बताउँछन् । उनले विपद्पूर्वका तयारीमा लाग्न स्थानीय तहलाई भनिएको जनाए । ‘जिल्लामा आगलागीका घटनाबाट ठूलो क्षति हुने गरेको छ’ केशरीले भने, ‘तर विपद्पूर्वको तयारी पर्याप्त हुन सकेको छैन ।’

जुम्लाका आठ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा मात्रै अग्नि नियन्त्रक (दमकल) खरिद गरी सञ्चालनमा ल्याइएको छ । विगत सात वर्षदेखि दमकल सञ्चालन गरिए पनि तालिमप्राप्त जनशक्तिको अभाव रहेको दमकल चालक सन्दिप बुढाले बताए । उनका अनुसार दक्ष जनशक्ति नहुँदा आगो नियन्त्रण गर्न समस्या हुने गरेको छ । सुख्खायाममा आगलागीका घटना धेरै हुन्छन् । पालिकामा दमकलको आवश्यता महशुस गरिए पनि आर्थिक कठिनाइ हुँदा खरिद गर्न नसकिएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरा बताउँछन् । उनले भने, ‘पालिकामा दमकल आवश्यक हो । अन्य आवश्यक परिपूर्ति गर्न सकिएको छैन, दमकलको त परिकल्पनासमेत गरिएको छैन ।’

यसैगरी सुर्खेतका वीरेन्द्रनगर, भेरीगंंगा र गुर्भाकोट नगरपालिकाले आवश्यकताका आधारमा दमकल सञ्चालनमा ल्याएका छन् । लेकवेशी र पञ्चपुरी नगरपालिका तथा सिम्ता, बराहताल, चिङ्गाड र चौकुने गाउँपालिकामा दमकल छैन । यी स्थानीय तहले दमकल खरिदको योजनासमेत बनाएका छैनन् । लेकवेशी र पञ्चपुरी नगर क्षेत्रभित्र थुप्रै बाक्ला बस्तीहरू छन् । पर्याप्त बजेट नहुँदा दमकल खरिदको योजना नबनेको लेकवेशी नगरपालिकाका नगरप्रमुख उमेशकुमार पौडेलले बताए । उनले भने, ‘पालिकामा आगलागीको जोखिम रहेका बस्तीहरू छन् । हरेक वर्ष आगलागीजन्य घटना पनि भइरहन्छन् । बजेट अभावका कारण खरिद गर्ने योजना बनाएका छैनौँ ।’

नगरपालिकामा दमकल आवश्यक रहेपनि आर्थिक अभावले खरिद गर्न सक्ने अवस्था नरहेको पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालविर भण्डारीले बताए । उनका अनुसार खरिद गर्ने योजनासमेत बनेको छैन । नगरपालिकामा नै दमकल नहुँदा आगलागीबाट क्षति बढी हुने गरेको स्थानीयले बताएका छन् ।

सिम्ता, बराहताल, चिङ्गाड र चौकुने गाउँपालिकाका धेरैजसो वस्तीमा सडक पुगेको छैन । ती स्थानीय तहका वस्तीहरू आगलागीको उस्तै जोखिममा छन् । सबै स्थानमा सडक नभएकै कारण दमकलको महशुस नगरिएको जनप्रतिनिधिहरूको जिकिर छ । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले नागरिकका आधारभूत आवश्यकता समेत परिपूर्ति नभएकाले दमकल प्राथमिकतामा नरहेको बताए । उनले भने, ‘आगलागीका कारण बर्सेनि धनजनको क्षति भइरहेको छ । पूर्वतयारीमा लाग्न सकिएको छैन ।’ बजेट अभावकै कारण दमकल खरिद गर्ने योजना नबनाएका उनी बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिकाले पाँच वर्ष अघिदेखि दमकल सञ्चालन गरिरहेको छ । बढ्दो सहरीकरणको अवस्थालाई ध्यानमा राखी हुनसक्ने जोखिम न्यूनीकरण गर्न दमकल सञ्चालन गरिएको नगर उपप्रमुुख निलकण्ठ खनालले बताए । यद्यपि, दमकलको क्षमता भने न्यून छ । नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुुख प्रकाश पौडेलका अनुसार नगरपालिकामा दमकलको क्षमता चार हजार लिटरसम्म छ । उनले भने, ‘अहिलेको दमकलको क्षमता तीन तलाभन्दा माथि पुग्दैन । नगरपालिकामा सञ्चालनमा रहेको दमकलको क्षमता कम छ ।’ अग्लो घरहरूमा सेवा दिन कठिनाइ भइरहेको र पानीको समस्याका कारण पनि दमकल सेवा दिन चुनौती हुने गरेको पौडेलले बताए ।

प्रकाशित मितिः   ४ चैत्र २०७९, शनिबार ०५:०५