आङ्गिक क्याम्पसमा चैत ५ गते स्ववियू निर्वाचन

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ । शुक्रवार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा चैत ५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि चैत ३ गते स्ववियू निर्वाचन गर्ने कार्यतालिका थियो । तर उच्च अदालत सुर्खेतले केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न आदेश दिएपछि विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसमा समेत निर्वाचन रोक्ने निर्णय गरेको थियो । तर, शुक्रवार बसेको बैठकले अदालतमा मुद्दा परी स्थगित गरिएका स्थानमा बाहेकका अन्य सम्पूर्ण आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरूको प्रतिवद्धता बमोजिम र शैक्षिक क्यालेन्डरलाई समेत मध्यनजर गर्दै चैत ५ गते स्ववियूको निर्वाचन गर्ने निर्णय गरेको हो ।

मंगलवार विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) का विद्यार्थीले निर्वाचनमा सहभागी हुनबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधवार स्ववियू निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो । अदालतले चैत्र ८ गते दुवै पक्षलाई छलफलका लागि अदालतमा बोलाएको छ ।

प्रकाशित मितिः   ४ चैत्र २०७९, शनिबार ०५:०१