स्ववियू निर्वाचन स्थगित
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले चैत ३ मा हुन लागेको स्ववियुको निर्वाचन स्थगित गर्न आदेश दिएको हो ।
विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरूले निर्वाचनमा सहभागी हुनबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा मंगलवार रिट दायर गरेका थिए । रिटमाथि बुधवार सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नआउञ्जेलसम्मका लागि निर्वाचन स्थगित गर्न आदेश दिएको हो । उच्च अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
स्कुल अफ म्यानेजमेन्ट (मुसोम) मा अध्ययनरत तीन जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । विश्वविद्यालयले भने मुसोस स्वायत्त संस्था भएकाले निर्वाचनमा सहभागी नगराइएको जनाएको छ । विश्वविद्यालय र मुसोमबीच भएको सम्झौतामा मुसोममा कुनै राजनीतिक गतिविधि नहुने उल्लेख गरिएको छ । यद्यपि, अदालतको आदेशपछि निर्वाचन स्थगित गरिएको र चैत ८ गते हुने छलफलपछि नै नयाँ मिति टुँगो लाग्ने विश्वविद्यालयले जनाएको छ ।
प्रकाशित मितिः २ चैत्र २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।