एम्बुलेन्स र शववाहन सञ्चालन गर्दै स्थानीय सरकार
सुर्खेत: जुम्लाको चन्दननाथ नगरपालिकाले मंगलवारदेखि एकैसाथ एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको छ । जुम्लामा पहिलोपटक शववाहन सञ्चालन भएको हो । शववाहनसँगै चन्दननाथ नगरपालिकामा पहिलो पटक एम्बुलेन्स पनि सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा पालिकाले शववाहन र एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याइएको चन्दननाथका नगरप्रमुख राजसिंह कठायतले जनाए । उनका अनुसार नेपाल सरकारको पूर्ण राजस्व छुटमा शववाहन र एम्बुलेन्स खरिद गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा ३२ लाख सहयोग गरेको थियो ।
शववाहन सञ्चालनमा आएसँगै नागरिकलाई सहज भएको छ । शव एक ठाउँबाट अर्को ठाउँ लैजानका लागि सहजै अन्य गाडी उपलब्ध नहुने र ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता हटाउन शववाहन ल्याइएको नगरपालिकाले जनाएको छ । विविध कारणले मृत्युवरण गरेका व्यक्तिलाई अन्तिम संस्कारका लागि लैजाने क्रममा निजी सवारी साधनलाई ठूलो रकम तिर्नुपर्ने बाध्यता हटेको चन्दननाथका स्थानीय सन्तबहादुर महतले बताए । उनले भने, ‘उपचारका लागि लगिएका आफन्तहरूको मृत्यु हुँदा निजी सवारीमा बोकाएर आवत–जावत गर्नुपर्ने बाध्यता थियो । निजी सवारी साधनले शव बोक्न मान्दैनन् । कहिलेकाहीँ शवलाई डोको, बोरामा समेत बोक्नुुपथ्र्यो ।’ अब भने त्यसो अवस्था नरहने उनले बताए । शववाहन सञ्चालनमा आउँदा सहज हुने विश्वास महतको छ ।
जिल्लाभरका सम्पूर्ण ठाउँमा शववाहनले सेवा दिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत क्षेत्रबहादुर महतले बताए । उनले भने, ‘जिल्लामै पहिलोपटक शववाहन भित्रिएको हो । जिल्लाभर नै यसले सेवा दिनेछ ।’ नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्याबाट मुक्त भएको उनको भनाइ छ । निजी सवारी साधनमा शव लैजादा एउटै व्यक्तिले ८० देखि ९० हजार महँगो भाडा तिनुपर्ने बाध्यताको अन्त्य भएको महतले बताए ।
यस्तै दैलेखको नारायण नगरपालिकाले नागरिकको सहजताका लागि बुधवारदेखि शववाहन सञ्चालन गर्ने भएको छ । यसअघि पालिकामा शववाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको थियो । जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा अन्य सवारी साधनले शव बोक्न नमान्दा समस्या हुने गरेको हो । नागरिकको समस्यालाई बुझेर शववाहन सञ्चालन गर्न लागिएको नगरप्रमुख लोमन शर्माले जानकारी दिए । उनका अनुसार बुधवारदेखि पालिकामा शववाहन सञ्चालनमा ल्याइने छ । नेपाल सरकारको ५० प्रतिशत राजश्व छुटमा नगरपालिकाले ११ लाखमा शववाहन खरिद गरेको हो । नगरप्रमुख शर्माले भने, ‘शववाहन नहुँदा नागरिकले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा समेत ट्याक्टरमा बोक्ने गरेका थिए । आवश्यकता महशुस गरेर जनतालाई दुःख पर्दा चाहिने शववाहन खरिद गरेका हौँ ।’ नगरपालिकाले प्राकृतिक प्रकोपले, भिरबाट लडेको, बेवारिसे लासको शूल्क लिनेछैन । अन्यको हकमा अवस्था हेरेर शूल्कमा सहुलियत गरिने प्रमुख शर्माले बताए ।
नगरपलिकाले केही दिनमा एम्बुलेन्स सेवा पनि सञ्चालन गर्ने जनाएको छ । बिरामीलाई छिटो छरितो स्वास्थ्य सेवाका लागि अन्यत्र जान र अकालमा ज्यान गुमाउन नपरोस् भनेर एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको नगरप्रमुख शर्माले बताए । उनले भने, ‘अबको एक÷दुई हप्तामा एम्बुलेन्स सञ्चालनमा आउँछ ।’ नगरपालिकाले एम्बुलेन्स खरिदका लागि ११ लाख बजेट खर्च गरेको छ । दुर्गम क्षेत्रमा बिरामीको उपचार र दुर्घटनामा परेका बिरामीलाई चाडै स्वास्थ्य संस्थामा लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालान गर्न लागिएको उनले बताए । नगरपालिकाभरका गर्भवती र सुत्केरी आमाहरूका लागि एम्बुलेन्स सेवा निशुल्क हुनेछ ।
पछिल्लो समय स्थानीय तहले धमाधम एम्बुलेन्स र शववाहन खरिद गर्न थालेका छन् । स्थानीय आवश्यकतालाई ध्यानमा राखेर एम्बुलेन्स र शववाहन खरिद गरिएको जनप्रतिनिधिहरू बताउँछन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले पनि दुईवटा एम्बुलेन्स सञ्चालन गरेको छ । आवश्यकता महशुस गरेर नै पालिकाले थप अर्को एम्बुलेन्स खरिद प्रक्रियामा रहेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । उनका अनुसार गर्भवती तथा सुत्केरी महिलाहरूका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ । यसले नागरिकलाई सुविधा हुनुका साथै स्वास्थ्यमा सहज पहुँचसमेत विस्तार भएको उनले जनाए ।
प्रकाशित मितिः १ चैत्र २०७९, बुधबार ०५:०५
साझा बिसौनी ।