स्ववियू निर्वाचन: के हुन् विद्यार्थीका मूल मुद्दा ?

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा आगामी चैत ३ र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थीहरू चुनावमा केन्द्रित भएका छन् । आफ्ना उम्मेदवार जिताउन विभिन्न एजेण्डासहित विद्यार्थी संगठनहरू लागिपरेका छन् । कतिपयले घोषणापत्र नै बनाएर चुनावी अभियान थालेका छन् भने केहीले विद्यार्थी भेटघाटलाई प्राथमिकतामा राखेका छन् । सबैजसो संगठन र उम्मेदवारहरूका अधिकांश एजेण्डा भने समान छन् । विद्यार्थी संगठनहरूले शिक्षा क्षेत्रको सुधारलाई एजेण्डा बनाएका हुन् ।

सल्यानको शारदा नगरपालिकामा रहेको शिवजन बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संगठन(नेविसंघ) बाट स्ववियू सभापति उम्मेदवार बनेका बुलन्दबाबु सेजुवालले समग्र क्याम्पसको शैक्षिक सुधार आफ्नो मुख्य एजेण्डा भएको बताए । क्याम्पसका समस्यालाई सम्बोधन हुनेगरी एजेण्डा अघि सारेको उनको भनाइ छ । गुणस्तरीय शिक्षा, रोजगमारमुलक शिक्षा, पुस्तकालयको स्तरोन्नतिलगायतका विषयलाई प्राथमिकता राख्ने सेजुवाल बताउँछन् ।

यस्तै नारायण बहुमुखी क्याम्पस दैलेखमा सभापतिको उम्मेदवार बनेकी खम्बिरा बुढा विद्यार्थीका हरेक मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ साझा मुद्धा अघि सारेर चुनावमा उठेको बताउँछिन् । ‘गुणस्तर शिक्षा, प्राविधिक शिक्षा, विश्वव्यापी शिक्षा, रोजगारीमुलक शिक्षा आजको आवश्यकता हो, हाम्रो एजेण्डा पनि यिनै हुन्’ उनले भनिन् । विद्यार्थीहरूको प्रभावकारी शिक्षण क्रियाकलाप, लाइब्रेरी, इ–लाइब्रेरी, शान्त वातावरण, खानेपानी, खेलकुद, विषयगत प्राध्यापकको पदपूर्तिलगायतका मागलाई सम्बोधन गर्नु आफ्नो मुख्य दायित्व हुने बुढाले बताइन् । उनले भनिन्, ‘शैक्षिक संस्था एउटा शिक्षाको पवित्र मन्दिर हो, यहाँ शान्त, सभ्य र विश्वसनीय हुन् आवश्यक छ, त्यसैको लागि मेरो उम्मेदवारी हो ।’ मध्यपश्चिम विश्वविद्यालयल अन्तर्गत रहेको नारायण बहुमुखि क्याम्पसमा आगामी चैत ३ गते निर्वाचन हुँदैछ ।

निर्वाचनमै केन्द्रित कालीकोटको जनचेतना बहुमुखी क्याम्पस शान्नित्रिवेणीको सभापतिका लागि अनेरास्ववियूबाट सभापतिका उम्मेदवार धर्मबहादुर शाहीले संविधानमा समेटिएका शैक्षिक मुद्दाहरू कार्यान्वयनको विषय आफ्नो ऐजेण्डा रहेको जनाए । उनले भने, ‘स्ववियू निर्वाचन क्याम्पसहरूमा हुने भएकाले क्याम्पसका समस्याहरू समेट्छौँ ।’ अनिवार्य शिक्षा, व्यावहारिक तथा सीपमुलक शिक्षा हुनुपर्ने मागलाई अघि सारिएको शाहीले बताए । यस्तै, सरकारले दिने छात्रवृत्ति आदिवासी जनजाति, दलित तथा पिछडिएका क्षेत्र तथा वर्गका व्यक्तिले पाउनुपर्ने जस्ता मुद्दालाई पनि चुनावी मुद्दा बनाएको उनको भनाइ छ । उच्च शिक्षा अध्ययनका लागि अहिले पनि कालीकोटका विद्यार्थी सुर्खेत तथा काठमाडौं पुग्नुपर्ने बाध्यता छ । ‘विद्यार्थीले चाहेको विषय आफ्नै ठाउँमा पढ्न पाउनुपर्छ’ शाही भन्छन्, ‘निःशूल्क र गुणस्तरीय शिक्षा हाम्रो अभियान, समाजवादको आधार निर्माणका लागि रचनात्मक आन्दोलन भन्ने नारा बोकेर निर्वाचनमा होमिएका छौँ ।’

अनेरास्ववियूबाट मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभापतिमा उम्मेदवार बनेका मिलन बिसीले विद्यार्थीको हक र अधिकार स्थापित गर्न पहल गर्ने बताए । विश्वविद्यालयलाई व्यवस्थित गर्न निर्धारित समयभित्रै विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुनुपर्नेमा उनको जोड छ । यसलाई समयमै र पारदर्शी बनाउन आफ्नो जोड रहने बिसीले बताए । त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानात्मक बनाउन पहल गर्ने भन्दै उनले दश प्रतिशत छात्रवृतिलाई वृद्धि गरेर २० प्रतिशतमा पुु¥याउने योजनासमेत आफ्नो प्राथमिकतामा रहेको जनाए ।

विद्यालयमा वैज्ञानिक शूल्क प्रणाली लागू गर्न पहल गर्ने, इ–लाइब्रेरी, हरित विश्वविद्यालयको रूपमा अघि बढाउने लगायतका योजना बिसीले सुनाए । उनी भन्छन्, ‘शिक्षालाई उद्यम र सीपसँग जोड्ने, प्रविधिमैत्री, अध्ययन–अनुसन्धानमुलक बनाउने कुरा हाम्रो मुख्य एजेण्डा रहनेछ । शिक्षालाई सर्वसुलभ र सहज बनाउने गरी अगाडि बढ्छौँ ।’

सुर्खेत बहुमुखी क्याम्पसका स्ववियू सभापतिका उम्मेदवार अक्कलबहादुर सिजापतिले शैक्षिक सुधारका मुद्दालाई नै अघि सारेर निर्वाचनमा जान लागेको जनाए । उनले बेरोजगार बनाउने शिक्षाको अन्त्य गरी रोजगारमुलक शिक्षा र क्याम्पस सुधारलाई आफ्नो मुख्य एजेण्डाका रूपमा अगाडि सारेका छन् ।

यसरी विभिन्न क्याम्पसमा स्ववियू निर्वाचनका लागि उम्मेदवार बनेका विद्यार्थी नेताहरू आफ्ना प्रतिबद्धतासहित यतिबेला विद्यार्थीहरूसँग मत मागिरहेका छन् । अधिकांश उम्मेदवारहरूको योजना समान छन् । समग्रमा शैक्षिक सुधारका साथै रोजगारमुलक शिक्षा हुनुपर्नेमा सबैको जोड रहेको छ ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७९, आईतवार ०५:०५