आलु उत्पादनमा आत्मनिर्भर

सुर्खेत: जुम्लाका आठ पालिकामध्ये जटिल भूगोल र कठिन जीवनशैलीको क्षेत्र हो, पातारासी । जसरी ठूला डाँडाकाँडा र हिमालले पातारासी छोपिएको छ, त्यसैगरी लुकेका छन्, यहाँका कृषकका दुखकष्टका कहानी । प्रकृतिले आलुका लागि उर्भरभूमि दियो तर डोकोमा आलु बोकेर बजार खोज्नुपर्ने बाध्यताले निकै कष्ट भोग्नुप¥यो । अहिले भने हिमालयन सहकारीले गाउँगाउँमै पुगेर किसानको आलु खरिद गरिरहेको छ । सडक सञ्जाल जोडिनु पूर्व यहाँका महिला पैदल खलङ्गा पुगेर धानसँग आलु साट्थे, कतिपय आलु खाडलमै कुहिन्थ्यो । अहिले गाउँमै २५ रूपैयाँ किलोमा आलु धमाधम बिक्री भइरहेको छ ।

जुम्लाको पातारासी गाउँपालिकाको आलुले बजार पाउँदा किसान उत्साहित भएका छन् । सहकारीले गाउँगाउँबाट आलु खरिद गरेपछि पातारासीका महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको स्थानीय मायादेवी बुढाले बताइन् । यहाँको आलु सुदुरपश्चिम र मध्यपश्चिमा विभिन्न जिल्लामा निर्यात भइरहेको छ । ‘पातारासी गाउँपालिकाका सात वटै वडामा आलु उत्पादन हुन्छ । चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा संकलन गरिन्छ । हिँउदको समयमा घाम नलाग्ने ठाउँमा खाडल बनाई भण्डार गरिन्छ । यसो गर्दा आलु कुहिन पाउँदैन’ स्थानीय माया बुढाले भनिन् ।

अहिले पातारासीका रिनि, पठमारा, बाँता गाउँबाट आठ सय क्वीन्टल आलु खरिद गरिएको छ । अन्य बस्तिबाट पनि खरिद गरिँदै छ । यहाँको आलु सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा निर्यात भइरहेको छ । आलु जोनहरूले समेत पातारासीबाटै बिउ मगाउने गरेको हिमालयन बहुउदेश्यीय सहकारीका बजार व्यवस्थापक राजेन्द्र बुढाले बताए । ‘हिमालयन बहुउद्देश्यीय सहकारीले आलुको अर्गानिक ब्राण्ड नै दर्ता गरेको छ, अहिले तत्कालै ६ सय क्वीन्टल आलुको माग छ, पातारासीका चार वटा वडाका दर्जन गाउँबाट आलु एकमुष्ट उठाइँदै छ’ उनले भने ।
पातारासीको उर्थु चौतारामा १० टन भण्डारण क्षमताको आलु संकलन केन्द्र स्थापना गरिएको छ । बलौटो माटो भएको पातारासीभर आलु उत्पादन हुन्छ । गाउँगाउँमा आलु संकलन केन्द्र स्थापना गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । ‘महिलाको सामाजिक विकाससँगै आर्थिक रूपान्तरण पनि आवश्यक छ, अहिले पनि महिला आर्थिक गतिविधिबाट टाढा छन्, तर पातारासीको अवश्था फरक छ, आलु उत्पादन र बिक्री वितरणमा महिला बढी संलग्न छन्’ उपाध्यक्ष रोकायाले भनिन् ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार दुई हजार ६ सय ५० हेक्टरमा आलु खेती भइरहेको छ । आलु उत्पादनको ६० प्रतिशत हिस्सा पातारासी गाउँपालिकाले मात्रै ओगटेको छ । यहाँको ५० प्रतिशत आलु बाहिर जिल्लामा बिक्री हुने गरेको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार जुम्लामा कृषि क्षेत्रमा अथाह सम्भावना छ । यो मध्यको आलु एक हो ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७९, शुक्रबार ०५:०१