सुर्खेतमा हरियाली होली

सुर्खेत: सुर्खेतमा हरियालीहोली मनाइएको छ । वीरेन्द्रनगरको सडक क्षेत्रका विरुवा गोडमेल गरेर होली मनाइएको हो । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण मासिदै गएको हरियाली फर्काउने उद्देश्यले नयाँ तरिकाले होली मनाइएको हो ।

क्लिन एण्ड ग्रिन सुर्खेत अभियान्ता डा. नवराज केसीको अगुवाईमा सोमवार वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको मुख्य सडक क्षेत्रको बिचमा रोपिएका विभिन्न प्रजातिका विरुवाहरूको गोडमेल गरिएको हो । वीरेन्द्रनगरको मुहार बदल्न बोटविरुवाको संरक्षण गर्ने उद्देश्यले हरियालीहोली मनाइएको डा.केसीले जनाए । ‘हरियाली मासिन नदिन र त्यसलाई थप बढाउने उद्देश्यले यसरी होली मनाइएको हो’ उनले भने ।

विद्यार्थी, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य बोट विरुवाको संरक्षण गरेर सुर्खेतको मुहारमा हरियो रङ्ग दल्नु रहेको डाक्टर केसीले बताए । ‘सुर्खेतमा जतिपनि मानिसहरू आउनु हुन्छ । सबैभन्दा पहिला हेर्ने भनेको मुख्य सडक हो । अर्थात् सुर्खेतको मुहार यही हाइवे बन्दै गएको छ’ उनले भने, ‘हामीले आउने पुस्तालाई प्रेरणा दिने गरी सुर्खेतको अनुहारमा हरियो रङ्ग अर्थात् हरियाली पार्ने योजना हो ।’

यसैबीच सोमवार सुर्खेतसहित देशभर विभिन्न तरिकाले होली पर्व मनाइएको छ । होलीको अवसरमा साङ्गीतिक तथा सांस्कृति कार्यक्रमहरूसमेत गरिएका छन् । होलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको थियो । सोमवार पहाडी क्षेत्र तथा सोमवार तराईमा होली धुमधामसँग मनाउने गरिन्छ ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७९, मंगलवार ०५:०१