पूर्वाधार नहुँदा दुई ठूला उद्योग अलपत्र
सुर्खेत: पूर्वाधार विकास नहुँदा सुर्खेतमा दुई ठूला सिमेन्ट उद्योग सञ्चालनमा आउन सकेका छैनन् । पश्चिम सुर्खेतको चौकुनेमा एक दशकअघि निर्माण अनुमति पाएको ‘सुर्खेत सिमेन्ट उद्योग’ सञ्चालन हुन नसकिरहेको बेला गत वर्ष स्वीकृत भएको ‘सूर्यतारा सिमेन्ट उद्योग’ पनि पूर्वाधार अभावकै कारण सञ्चालन हुन सकेको छैन । यी दुवै एकै पालिकामा सञ्चालन हुने उद्योग हुन् ।
चार दशकअघि नै अध्ययन गरिएको सुर्खेत सिमेन्ट (चौकुने) उद्योग सञ्चालनका लागि २०६६ मा मुक्ति श्री प्रालिलाई जिम्मा दिइएको थियो । तर सरकारबाट अनुमति पाएको एक दशक बितिसक्दासम्म पनि उक्त उद्योग स्थापना हुन सकेको छैन । उद्योग स्थापनास्थलमा सम्पर्क कार्यालय राख्नेबाहेक निर्माणको कुनै काम अघि बढेको छैन । कम्पनीका अनुसार उद्योगका लागि करिब ९० रोपनी जग्गा अधिग्रहण गरिएको छ । दैनिक एक हजार टनभन्दा बढी सिमेन्ट उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गर्ने योजना लामो समयदेखि अलपत्र छ ।
एउटा उद्योग स्थापनाअघि नै अलपत्र परिरहेको चौकुनेमा गत वर्ष मात्रै अर्को सिमेन्ट उद्योग स्थापनाका स्वीकृति भएको थियो । लगानी बोर्डले करिब १५ अर्ब लगानीमा चौकुने ९ मा सूर्यतारा सिमेन्ट उद्योग स्थापनाका लागि अनुमति दिएको थियो । स्वीकृति भएलगत्तै उद्योग दर्ता गरिएपनि निर्माणको काम भने अघि बढ्न सकेको छैन । पूर्वाधार अभावकै कारण उद्योग सञ्चालनमा समस्या भएको उक्त कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बाटो, पानी र विद्युत नहुँदा काम अघि बढाउन समस्या भइरहेको जनाए । उनका अनुसार अहिले उद्योग स्थापनास्थलमा पर्खाल निर्माणको काम भइरहेको छ । तर अन्य पूर्वाधार नहुँदा उद्योग स्थापनाको अन्य काम भने सञ्चालनमा कठिनाइ देखिएको हो । ‘बाटो, विद्युत र पानी मुख्य समस्याका रूपमा रहेका छन्’ उनले भने ।
उद्योग स्थापनाका लागि कम्तीमा २२ मेगावाट विद्युत आवश्यक पर्दछ । तर आवश्यक विद्युत छैन । यद्यपि, नेपाल विद्युत प्राधिकरणले कैलालीको चिसापानी हुँदै सुर्खेतको चौकुनेसम्म विद्युत विस्तारको काम गरिरहेको छ ।
सबै स्रोत साधन जुुटेमा तीन÷चार महिनामै उद्योग सञ्चालनमा ल्याउन सकिन अध्यक्ष तिमिल्सेनाले बताए । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ । उनका अनुसार चौकुनेमा स्थापना हुने उद्योगका लागि बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गरिनेछ । चौकुने गाउँपालिका वडा नम्वर ९ मा उद्योग स्थापनाका लागि ४२ विघा जमिन खरिद गरिएको छ ।
कर्णाली प्रदेश सरकारले उद्योग स्थापनका लागि समन्वय भइरहेको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले आवश्यक पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता राखेको जनाए । संघीय सरकारमा दर्ता उद्योग भएपनि सडक, विद्युत विस्तारलगायतका पूर्वाधार निर्माणमा प्रदेशले पनि पहल गरिरहेको सचिव जोशीले जानकारी दिए ।
सडक र विद्युतको विस्तार लगत्तै उद्योग स्थापना हुने सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य बिन्दमान विष्टको दाबी छ । यसका लागि पहल भइरहेको समेत उनी बताउँछन् । ‘ठूला खालका उद्योग स्थापनाको सहयोगका लागि बाटो निर्माण र पानीको व्यवस्थापनका लागि डिब बोरिङ निर्माणलगायतका लागि प्रदेश सरकारले पनि बजेट छुटाएको छ’ उनले भने ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार तयार पार्न प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने बताए । उनका अनुसार कच्ची बाटो निर्माण गरिएको छ भने त्यसलाई स्तरोन्नति गर्नुपर्ने छ । ‘समस्या समाधानका लागि आवश्यक पहल भइरहेको छ’ उनले भने ।
ठूला उद्योग स्थापनाका लागि सरकार पनि गम्भिर हुनुपर्ने बताउँछन् कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दिपेन्द्र रोकाया । लगानी गर्न चाहने निजी क्षेत्रलाई समेत प्रदेश सरकारले दिशा निर्दिष्ट गर्न नसकेको उनले जनाए । उनले भने, ‘कर्णालीमा लगानी गर्न इच्छुक भएर लगानिकर्ता आउछन् । प्रदेशले ठोस योजना अवधारणा नबनाउँदा काम नगरेर फर्कन्छन् ।’
प्रकाशित मितिः २० फाल्गुन २०७९, शनिबार ०५:०५
साझा बिसौनी ।