‘सरकारबारे निर्णय भएको छैन’

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ समीकरणअनुसार सरकार गठनको विषयमा कुनै छलफल नभएको बताएका छन् । राष्ट्रपति निर्वाचनका सन्दर्भमा पुरानै गठबन्धन ब्युँताएर जाने सहमति गरिएपनि संघीय र प्रदेश सरकार फेरबदलका विषयमा अहिले नै कुनै निर्णय नभइसकेको उनले जनाए ।

बुधवार वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै सरकार पुनर्गठनको पक्रिया सुरु भइनसकेको बताउँदै उनले आफूले मन्त्री नबन्ने भनेर सात वर्षअघि नै घोषणा गरिसकेको बताए । खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल अत्याधिक बहुमतले विजयी हुने उल्लेख गर्दै राष्ट्रपतिको निर्वाचनपश्चात कांग्रेस सरकारमा जाने बताए । प्रदेश सरकारहरूका बारेमा भने नेकपा एमालेको निर्णयमा भर पर्ने उल्लेख गर्दै उनले त्यसबारे अहिले केही नबोल्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने समेत बताए । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताए । ‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन,’ खड्काले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई÷तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने खड्काको भनाइ थियो ।

अहिले सरकारमा जानेबारे र को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइनसकेको खड्काको भनाइ थियो । गत पुस १० मा कमजोरी हुँदा नेकपा एमालेसहित सात दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्काइएको खड्काको भनाइ छ ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले २५ पुसमा संसद्मा दिएको अभिव्यक्तिकै कारण चुनावी गठबन्धन ब्युँतिएको बताएका छन् । त्यतिबेला संविधानका रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा शान्ति सुव्यवस्थाका लागि बनेको गठबन्धन अप्राकृतिक ढङ्गले भत्किनुमा कांग्रेसकै कमजोरी रहेको उल्लेख गर्दै खड्काले ओलीकै अभिव्यक्तिका कारण पुनःस्थापित भएको दाबी गरे । ‘एमाले अध्यक्ष ओलीले दुई–दुई पटक संविधानको विघटन सही थियो भन्नुले नै चुनावी गठबन्धनले ब्युँतिएको हो’ उनले भने ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७९, बिहीबार ०५:०२