प्रदेश अस्पताल स्तरोन्नति योजना

पाँच सय सैय्यामा स्तरोन्नति हुँदै प्रदेश अस्पताल

पूर्वाधारसँगै सेवा विस्तार, प्रतिष्ठान बनाउन पहल

सुर्खेत: कर्णाली प्रदेश अस्पताललाई पाँच सय सैड्ढयासहितको बनाउन पूर्वाधार निर्माण गर्न थालिएको छ । अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि धमाधम अघि बढाएको हो । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच सय सैड्ढयाको अस्पताल सञ्चालन गर्ने जनाइएको छ ।

भौतिक पूर्वाधार विकास अन्तर्गत भवनको स्तरोन्नति हुँदैछ । अस्पताललाई पाँच सय सैड्ढयाको बनाउने गरी भवनको तला थप्न लागिएको अस्पतालका निर्देशक डा. डम्मर खड्काले बताए । उनका अनुसार तला थप्नका लागि टेण्डर आह्वान भएको छ । शुक्रवार एक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरेर टेण्डर आह्वान गरिएको हो ।

अहिलेको भवनमा एक तला थप भएपछि दुई सय बेड विस्तार गर्न सकिनेछ । अस्पतालले अहिले करिब तीन सय सैड्ढयामार्फत सेवा दिइरहेको छ । तला थप्नका लागि प्रदेश सरकारले करिब डेढ अर्ब बजेट छुट्याइएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको निर्देशक खड्काले जनाए । ‘सुविधा सम्पन्न र स्तरीय अस्पताल बनाउने गरी काम अघि बढिरहेको छ’ खड्काले भने, ‘काठमाडौंका भन्दा राम्रो अस्पताल कर्णालीमै सञ्चालन गर्ने योजना छ ।’

भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र रिफर गर्न नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको जनाइएको छ । ‘करिब एक प्रतिशत रहेको रिफर दर शून्य बनाउने गरी सेवा विस्तार हुँदैछ’ निर्देशक खड्काले भने ।

सेवा विस्तार अन्तर्गत हालै मात्र अस्पतालले मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याएको छ । अहिलेसम्म मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौं नै जानुपर्ने बाध्यता थियो । अब भने मानव अङ्ग प्रत्यारोपणजस्तो जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । अस्पतालले क्रमशः अन्य महŒवपूर्ण सेवा पनि विस्तार गर्दै जाने योजना बनाएको छ । बाल अस्पतालको निर्माण गरी सेवा प्रवाह गर्नेदेखि क्यान्सर रोगीको उपारका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने योजनासमेत अस्पतालले अघि सारेको छ । डा. खड्काका अनुसार मुटुका रोगीहरूको लागि क्याथ ल्याव तथा डाक्टरको सुविधासहित सेवा सञ्चालन र ट्रमा सेन्टर स्थापना र सञ्चालन गर्ने योजना बनाइएको छ ।

यसैगरी अस्पतालले अप्थाल्मोलोजि, डर्माटोलोजी, न्यूरो सर्जरी र स्पाईन सर्जरी सेवा थप गरेको छ । अक्शिजन प्लान्ट तथा पाइपलाइन जडान तथा सञ्चालन गरिएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान प्रक्रियामा रहेको छ । यो वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बिमा सुरु गरेको छ ।

अर्कोतर्फ अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारेर सरोकारवालाहरूसँग छलफल भइसकेको छ । पूर्वाधारका हिसाबले अहिले पनि प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सकिने डा. खड्का बताउँछन् । यद्यपि, आवश्यक प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । ‘हामी अहिले नै प्रतिष्ठान सञ्चालन गर्न सक्षम छौँ,’ उनले भने, ‘पूर्वाधार पनि प्रशस्त छ, नपुगे विस्तारका लागि पनि पर्याप्त ठाउँ छ ।’ प्रतिष्ठान स्थानपनाका लागि प्रदेश सरकारले छुट्टै ऐन ल्याउनुपर्ने हुन्छ भने नेपाल सरकारको पूर्वस्वीकृति र नेपाल मेडिकल काउन्सिलबाट समेत मान्यता प्राप्त गर्नुपर्दछ । काउन्सिलले मापदण्ड तथा पूर्वाधार पूरा गरे÷नगरेको जाँचबुझ गरेर मात्र स्वीकृतिका लागि परामर्श दिने नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा उल्लेख छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेको अस्पतालले जनाएको छ । डा. खड्काले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेकाले प्रतिष्ठान बनेपछि प्रयोगात्मक अभ्यासका लागि कुनै समस्या नहुने समेत जनाए । कर्णाली प्रदेश सरकारले पनि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७९, सोमबार ०५:०५