पूर्व प्रदेशसभा सदस्यहरू संगठित
सुर्खेत: कर्णाली प्रदेशसभाका निवर्तमान सांसदहरू संगठित भएका छन् । उनीहरूले पूर्व प्रदेशसभा सदस्य मञ्च गठन गरेका हुन् । मञ्चको तदर्थ समिति अध्यक्षमा निवर्तमान प्रदेशसभा सदस्य एवम् पूर्व सामाजिक विकासमन्त्री दल रावल चयन भएका छन् । उक्त मञ्च जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरिएको छ । बुधवार कर्णाली प्रदेशसभामा पत्रकार सम्मेलन गरी मञ्च गठनको उद्देश्यबारे जानकारी गराइएको छ । प्रदेशसभाका सदस्यहरूको क्षमता अभिवृद्धि गर्नेदेखि प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्ने उद्देश्ययले मञ्चको स्थापना गरिएको तदर्थ समितिका अध्यक्ष रावलले जनाए । उनले भने, ‘यो संस्थाको मुख्य काम भनेको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु हो । प्रदेशसभा सदस्यलाई परामर्श दिने, कानुन निर्माणमा सहयोग गर्ने र प्रदेशसभालाई मर्यादित बनाउन मञ्चले भूमिका खेल्नेछ ।’ उनका अनुसार कर्णालीको विकासका लागि बहस पैरवी गर्ने काम समेत उक्त संस्थाले गर्नेछ । संस्थाको तदर्थ समितिको उपाध्यक्षमा अमृता शाही, महासचिवमा कृष्णा शाह, सचिवमा पदमा खड्का र कोषाध्यक्षमा मिनासिंह रखाल छन् ।
त्यस्तै, सदस्यहरूमा करवीर शाही, नन्दसिंह बुढा, राजु नेपाली, बद्मीक्वारी बोहोरा, रातो कामी र झोवा विक छन् । संस्थामा आवद्ध सदस्यहरूले वार्षिक रूपमा एक हजार रूपैयाँ सदस्यता नवीकरणका लागि शुल्क तिर्नुपर्नेछ । मञ्चको साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य र मानार्थ सदस्यता वितरणको पनि व्यवसथा मिलाइएको छ । संस्थाको संरक्षकमा वर्तमान सभामुख तथा उपसभामुख रहेने बताइएको छ । त्यस्तै, मञ्चको सल्लाहकारमा पूर्व मुख्यमन्त्री, पूर्व सभामुख, पूर्व उपसभामुख र पूर्व विपक्षी दलका नेता रहनेछन् ।
प्रकाशित मितिः ११ फाल्गुन २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।