बर्सेनि बढ्दै मानवअधिकार उल्लंघन

एकै वर्ष १६ जनाको हत्या, महिला र बालबालिका बढी पीडित

सुर्खेत: कर्णालीमा यो वर्ष पनि मानव अधिकार उल्ल‌ंघनका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनअनुसार सन् २०२२ मा कर्णाली प्रदेशभर करिब पाँच सय माधवअधिकार उल्ल‌घनका घटना भएका छन् ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले वर्षभरी मानव अधिकार उल्लंघन तथा ज्यादतीका चार सय ९६ वटा घटना अभिलेख भएको जानकारी दिए । पीडित भएकामध्ये मानव अधिकार उल्लंघनका घटनामा चार महिला र २९ जना पुरुष गरी ३३ जना तथा ज्यादतीका तीन सय २८ महिला र एक सय ३५ पुरुष गरी चार सय ६३ जना पीडित भएका छन् ।

प्रतिवेदन अनुसार सन् २०२१ मा प्रदेशमा मानव अधिकार उल्लंघनका घटनामा चार सय ३० जना पीडित भएका थिए । त्यसमध्ये मानव अधिकार उल्लंघनका घटनामा चार महिला ३० पुरुष गरी ३४ जना तथा ज्यादतीका घटनामा तीन सय २० महिला र ७६ जना पुरुष गरी तीन सय ९३ जना पीडित भएका थिए । यो वर्ष कर्णालीमा राज्य पक्षबाट भएका कुटपिट घटनामा १५ जना, गिरफ्तारीका घटनामा एकजना, अमानवीय व्यवहारको घटनामा एकजना, संगठित भेलामा १५ जना पीडित भएका थिए भने एक जनाको थुनामा मृत्यु भएको थियो । प्रदेशभर यो वर्ष १६ जनाको हत्या भएको पाइएको छ । अन्य पक्षबाट १३ जना महिला र तीन जना पुरुषको हत्या भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ । गत वर्ष राज्य पक्षबाट एक जना पुरुष र अन्य पक्षबाट २० जनासहित ३४ जनाको हत्या भएको थियो ।

यसैगरी सन् २०२२ मा बालअधिकारका घटनामा ७७ जना बालिका र तीन जना बालक गरी ८० जना पीडित भएका छन् । भएका बालअधिकारका घटनामा बालविवाह १२, बेचबिखन तथा ओसार–पसारबाट तीन जना, विद्यालयमा शारीरिक दण्ड सजायबाट एक जना, बलात्कार घटनामा ४९ जना, यौन दुव्र्यवहारका घटनामा ८३ जना बालिका र एक जना बालक गरी ८४ जना पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कर्णालीमा विगत वर्षहरूमा जस्तै सन् २०२२ मा पनि पारिवारिक विभत्स घटनाहरूको संख्या उल्लेख्य रहेको पाइएको छ । पारिवारिक बेमेलका घटनाहरू बढ्दै आएको पाइएको छ । यो वर्ष घरेलु हिंसाका घटनामा दुई सय ११ जना पीडित भएका छन् । त्यसमध्ये घरेलु हिंसाका घटनामा एक सय ३२ जना, बोक्सी आरोपमा एक जना, बलात्कार घटनामा ३९ जना, बलात्कार प्रयासका घटनामा ११ जना, यौन दुव्र्यवहारको घटनामा आठ, बहुविवाह घटनामा २० जना पीडित भएको उल्लेख गरिएको छ । यो वर्ष कर्णालीमा परिवारजनबाट सात जना महिलाको हत्या भएको छ । गत वर्ष घरपरिवारबाट नौ महिलाको हत्या भएको थियो ।

घरपरिवारबाट भएका हत्याका घटनामा आरोपित पक्षले आत्महत्या गरेको बताउने गरेको पाइएको प्रदेश संयोजक सुवेदीले बताए । उनका अनुसार परिवारजनबाट महिलामाथि हुने घरेलु हिंसाका उजुरी हरेक वर्ष बढ्ने गरेको छ । परिवारबाट महिलामाथि हुने घटनालाई गाउँसमाजमै मिलाइने गरेको उनले बताए । सुवेदीले भने, ‘धेरै घटनामा महिलाकै दोष देखाएर आरोपितलाई उन्मुक्ति दिने गरिएको छ । महिलामाथि हुने हिंसालाई परम्परागत रूपमा लिने गरिएको पाइयो ।’

इन्सेकले दशवटै जिल्लाका प्रहरी कार्यालयमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रको अनुगमनसमेत गरेको थियो । केन्द्रमा दर्ता भएका अधिकांश घटनामा मिलापत्र गरिएको पाइएको उनले जानकारी दिए । फितलो कानुन र भएकै कानुनको पनि कार्यान्वयन नहुँदा महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको इन्सेकको ठम्याइ छ ।

सन् २०२२ मा बलात्कारका घटनामा ८८ जना, बलात्कार प्रयासका घटनामा ११, यौन दुव्र्यवहारका घटनामा २२ जना गरी एक सय २१ जना महिला तथा बालिका पीडित भएका छन् । गत वर्ष यस्ता घटनामा एक सय १५ जना महिला तथा बालबालिका पीडित भएका थिए ।

कारागारभित्र क्षमताभन्दा कैदी राखिनुले पनि माधवअधिकारको उल्लंघन भएको जनाइएको छ । सुर्खेत क्षमताभन्दा बढी कैदी बन्दी राखिएका कारण कारागारमा पालो लगाएर सुत्नुपर्ने बाध्यता छ । कर्णाली प्रदेशमा रहेको जिल्ला कारागारको क्षमता ६ सय २५ रहेकोमा २०२२ को अन्त्यमा नौ सय ६६ जना कैदी कारागारमा रहेको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशका कारागारमा एक जना आश्रित बालबालिका रहेका छन् ।

हालै सम्पन्न तीन तहको निर्वाचनमा ३१ वटा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ९७ जना पीडित भएको अभिलेखमा उल्लेख गरिएको छ । राज्य पक्षबाट भएका दुई प्ररकारका घटनामा ६ जना र अन्य पक्षबाट चार प्ररकारका घटनामा ९१ जना पीडित भएका थिए ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७९, सोमबार ०५:०५