‘कर्णालीमाथि बनाइएको भाष्य परिवर्तन गर्नुपर्छ’
सुर्खेत: भोकसँग जोडेर कर्णालीमाथि बनाइएको भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । कर्णाली उत्सव अन्तर्गत शनिवार भएको ‘भोक र भोजन’ शीर्षकको सत्रका वक्ताहरूले कर्णाली प्रदेशमा खाद्य अभाव हुनुमा खाद्यान्नभन्दा पनि संस्कारले मुख्य भूमिका खेलेको बताएका हुन् ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले खाद्य संस्कार नै परिवर्तन गर्नुपर्ने बताए । ‘भोक मार्न भोजन खाएरमात्रै हुँदैन । भोजनले मान्छेलाई पार्ने प्रभावको बारेमा सोच्नुपर्ने हुन्छ,’ मन्त्री शर्माले भने, ‘जहाँको खाद्यान्नले त्यहीँ पुग्छ भन्ने हिसाबले हामी ग¥यौँ भने पुग्दैन । धानको बाला नफल्ने ठाउँ पनि उन्नत देश छ भने हामी कर्नालीका मान्छे कसरी गरिब भयौँ त ?’ उनले खाद्य सुरक्षासम्बन्धी नियमावली बनिरहेको र नियमावली बनेपछि कर्णालीमा अझ सजिलो हुने बताए । मन्त्री शर्माले राजनीति, संस्कार, संस्कृति र खाने तरिका अन्तरसम्बन्धित रहेको धारणा राखे ।
खाद्य सुरक्षाविद् डाक्टर यमुना घलेले संविधानले नै खाद्य अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने लागू हुन नसकेको बताइन् । कर्णालीका विकट जिल्लाहरूमा पैसा भएर पनि किनेर खान नपाउने अवस्था रहेको बताउँदै घलेले भोजनमा कसैले विभेद गर्छ भने त्यो पनि मानवीयता र सामाजिक न्यायका विरुद्ध रहेको बताइन । ‘कर्नालीमा भोकका कारण विकासको राजनीतिकीकरण गरिएको छ,’ घलेले भनिन्, ‘हाम्रो घरभित्रको बच्चा ख्याउटे हुनु, किशोरी गर्भवती हुनु र महिला रक्तअल्पता हुनु भनेको के कर्नालीमा खाद्य सुरक्षा भएको हो ? खाने संस्कृतिमा पनि अभाव छ । कोदो समस्या हैन सोच समस्या हो ।’
परिकारयात्री केदार शर्माले मानवजातिको विकास भएपछि मान्छेलाई भोकले नै संसार घुमाएको बताउँदै भोकलाई आदि सत्ताका रूपमा व्याख्या गरे । ‘मानवजातिको विकास भएपछि संसार घुमाएको भोकले हो । मेरो पुर्खालाई जुम्लाबाट इलाम पु¥याएको पनि भोकले हो,’ शर्माले भने, ‘खाने कुरालाई भोकका रूपमा मात्रै सीमित ग¥यौँ भने आधारभूत हुन्छ । खाने कुरालाई उत्सवका रूपमा लिनुपर्छ ।’ उनले आफूले हालसालै कर्णाली घुमेको बताउँदै भने, ‘कर्नाली घुमेपछि के लाग्यो भने यो हिम्मतबहादुर र सहनशीलहरूको भूमि हो यो बाली र बनबालीहरूको भूमि हो । यो परिकारहरूको भूमि हो ।’
प्रकाशित मितिः ७ फाल्गुन २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।