बुलबुलेमा कर्णालीको चिन्तन

सुर्खेत: वीरेन्द्रनगरमा कर्णालीको अवस्थाबारे चिन्तन गर्न शुक्रवारदेखि ‘कर्णाली उत्सव, ‘कुडा कर्नाली’ को चौथो संस्करण सुरु भएको छ । बुलबुले उद्यानमा भइरहेको बहसमा पहिलो दिन कर्णालीका विभिन्न क्षेत्रसँग सम्बन्धित सवालमा सरोकारवाला निकाय र विज्ञहरूबीच छलफल गरिएको छ । यो संस्करणको निकै प्रतिक्षा गरिएको सत्र ‘यो सहरः त्यो रहर’ बारे शुक्रवार बहस गरियो । वीरेन्द्रनगरको विकासक्रमसँग सम्बन्धित सो सत्रको छलफलका वक्ता थिए, वीरेन्द्रनगर सहरका योजनाकार माधवभक्त माथेमा र नगर प्रमुख मोहनमाया ढकाल । सत्रको सहजीकरण गोविन्द कोइरालाले गरेका थिए ।

सहजकर्ताले ७९ वर्षीय माथेमालाई संवादको सुरुवातमै सञ्चोबिसञ्चो सोधे । माथेमाले आरामै छु भनेपछि कोइराला बहसको मूल विषय वीरेन्द्रनगरको विकासमा प्रवेश गरे । उनले माथेमालाई सोधे, हजुर आरामै हुनुहुँदो रहेछ, के वीरेन्द्रनगर आरामै रहेछ ? कोइरालाले फेरि प्रश्न गरे, भनेपछि त्यतिबेला तपाईंले परिकल्पना गरेको वीरेन्द्रनगर स्वस्थ देख्नु हुन्छ की रोगी भइरहेको ? वीरेन्द्रनगर विकासका साक्षी माथेमाले उतिबेला आफूले कोरेको वीरेन्द्रनगर विकासको नक्सा सम्झिए । जसले २०२९ सालमा वीरेन्द्रनगरको सहरी विकासको योजना बनाएका थिए । माथेमाले त्यसबेला झन्डै चार वर्ष सुर्खेतमा बसेर वीरेन्द्रनगर सुन्दर र व्यवस्थित सहरको परिकल्पना गर्दै विकासको योजना बनाएका हुन् । सहजकर्ताले वीरेन्द्रनगरको बेहाल भइरहेको व्याख्यासहित सवाल गर्दा माथेमाको जवाफ थियो, ‘सहरीकरणमा अघि बढिरहँदा विभिन्न समस्या आउनु स्वाभाविकै हो ।’ झन्डै चार वर्ष सुर्खेतको वीरेन्द्रनगरमा रहेर सहरी योजना बनाएका र करिब ३५ वर्षपछि वीरेन्द्रनगर आएका माथेमाले उतिबेलाको वीरेन्द्रनगर र अहिले धेरै परिवर्तन भएको बताए ।

माथेमाले वीरेन्द्रनगर नगरपालिका आफूले उसबेला परिकल्पना गरेभन्दा विकसित भएको पाइएको सुनाए । सहरीकरणको बाटोमा अघि बढिरहेको सहरलाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापन मुुख्य चुुनौती रहेको उनले औल्याए । माथेमाले भने, ‘विकासको मोडालिटीमा अघि बढ्दै गर्दा कसरत बढी गर्नुपर्ने हुन्छ, २०२९ सालमा सुर्खेत कहाँ छ भन्दा पश्चिममा पर्छ भनेर बताइयो, चार जना साथीसहित सहरी विकासका लागि आइयो ।’ उनले उसबेलाको सुर्खेत उपत्यकाबारे थुप्रै ऐतिहासिक प्रसंगहरू सुनाए । २०२९ सालमा आफूहरूले वीरेन्द्रनगरको गुरुयोजना बनाउँदा राजमार्गको तल्लो भागलाई कृषि क्षेत्रका रूपमा छुट्याइएको स्मरण गरे । वीरेन्द्रनगरको सहरी विकासको योजना बनाउँदा त्यसबेला तीन सय विगाह क्षेत्रफल जग्गा अधिग्रहण गरिएको भन्दै माथेमाले एक विगाहको मूल्य दश हजार रहेको सुनाए । वीरेन्द्रनगर नगरपालिकाले सहरी विकास योजनमा रहेर कार्य विस्तार गर्न उनले सुझाए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख ढकालले वीरेन्द्रनगरलाई उप–महानगरपालिकाको रूपमा विकास गर्ने योजनाका साथ लागिएको बताइन् । उनले भनिन्, ‘कर्णालीको राजधानी सहर पनि भएकाले त्यही रूपमा विकासको मार्गचित्र बनाइएकाले वीरेन्द्रनगरले खास पहिचान बनाउन सकेको छ ।’ उनले वीरेन्द्रनगरको गुुरुयोजनाकार माथेकोको परिकल्पनाप्रति आभार व्यक्त गरिन् । सहजकर्ताले नगर निकै अव्यवस्थित रहेको भन्दै थुप्रै उदाहरणसहित प्रश्न गरेपछि ढकालले विकासलाई धरातल, स्रोत–साधन र अवस्थाअनुसार व्यावहारिक रूपमा हेरिनुपर्ने तर्क गरिन् । नगरपालिकाले गरिरहेका काममा प्रश्न उठ्नु स्वाभाविक भएको भन्दै ढकालले यस्तो तर्क गरेकी हुन् । विकासक्रममा केही समस्या र चुनौतीहरू आइरहेपनि स्रोत–साधनको हिसाबले वीरेन्द्रनगरले फड्को मारेको उनको जिकिर छ । ‘व्यावहारिक रूपमा हेर्दा कल्पना गरेकै वीरेन्द्रनगर बनेको छ,’ उनले भनिन्, ‘पहिले बनेको गुुरुयोजना सान्र्दभिक मानेरै सोही बमोजिम विकासका कार्य अघि बढाइएको छ ।’ उतिबेला बनेको योजनाभन्दा बाहिर गएर नगरले काम नगरेको बताएकी ढकालले सोही योजनाको प्रभावकारी कार्यान्वयनको बाटोमा आफूहरू लागेको जनाइन् । नगरपालिकाले थालेका काम र आगामी योजनाबारे फेहरिस्त सुनाएकी ढकालले सरकारी जग्गाको संरक्षण नगरपालिकाको पहिलो दायित्व भएको बताइन् । त्यसका लागि अतिक्रमण भएको क्षेत्र तत्काल हटाइने उनको भनाइ थियो ।

शुक्रवार उत्सवको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको चिन्तन गर्ने यस्ता बहसहरूले यहाँको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरे । उनले कर्णालीमा रहेको विकराल गरिबीको अन्त्यका लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याए । उत्सवमा शुक्रवार कर्णाली खेल्दो छ, पैकेलो, यो सहरः त्यो रहर, निर्वाचन र लोकतन्त्र, कर्णाली चिन्तनलगायतका सत्र सञ्चालन गरिएका थिए । सार्वजनिक बहसमार्फत कर्णालीका विविध विषयको उठान गर्न चार वर्षदेखि वीरेन्द्रनगरमा हुँदै आएको कर्णाली उत्सवको यो संस्करण आइतवारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७९, शनिबार ०५:०२