दोस्रो चुली कप हुँदै

सुर्खेत: सुर्खेतमा कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । चुली युवा क्लव सुर्खेतको आयोजनामा यही फागुन १५ देखि १९ गतेसम्म दोस्रो चुली कप प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा पुरुष र महिला भलिबल खेल हुनेछन् । पुरुष भलिवलतर्फ विजेता टोलीले उपाधिसहित दुई लाख २० हजार रूपैयाँ प्राप्त गर्ने चुली युवा क्लवका अध्यक्ष मोतिराम रम्तेलले जानकारी दिए । दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुने टोलीले ५० हजार रूपैयाँ पाउनेछ ।

यस्तै महिलातर्फ विजेताले उपाधीसहित एक लाख ५० हजार, दोस्रो हुने टोलीले ८० हजार, तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टोलीले ३० हजार रूपैया पाउने छन् । यसबाहेक प्रतियोगिताका सर्वात्कृष्ट दुई जना खेलाडीले १०÷ १० हजार र प्रतियोगिता उत्कृष्ट स्पाइकरले १० हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचरले पनि समान १०÷१० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् । पुरुष भलिवलमा प्रतियोगितामा भाग लिन चाहने टोलीले १० हजार रूपैयाँ र महिलातर्फ भाग लिन चाहने टोलीले सात हजार शुल्क बुझाउनु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिलातर्फ करिब आठदेखि १० टीम र पुरुषतर्फ १२ देखि १५ टीम सहभागी हुने अनुमान आयोजकले गरेको छ । दोस्रो चुली कप सञ्चालन गर्न २२ देखि २५ लाख रकम खर्च लाग्ने अनुमान गरीएको छ ।

प्रथम चुली कप २०७७ चैत ११ गतेदेखि १४ गतेसम्म भएको थियो । उक्त प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको थियो ।

प्रकाशित मितिः   ३ फाल्गुन २०७९, बुधबार ०५:०१