वैतनिक वकिलमार्फत निःशुल्क सेवा

सुर्खेत: उच्च अदालत सुर्खेतका प्रमुख रजिस्ट्रार अर्जुन कोइरालाले कमजोर आर्थिक अवस्थाका कारण कानुनी प्रक्रियामा जानबाट कोही पनि वञ्चित हुनुनपर्ने जनाएका छन् । उनले पीडितलाई वैतनिक वकिलमार्फत निःशुल्क सेवा उपलब्ध गराउने गरिएको जनाए ।

अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा आयोजना गरेको न्याय प्रक्रियामा पीडितको पहुँच विषयक छलफल कार्यक्रममा प्रमुख रजिस्ट्रार कोइरालाले कसैलाई पनि न्याय पाउनबाट वञ्चित हुन नदिन पीडितलाई जिल्ला अदात तथा उच्च अदालतको वैतनिक वकिलमार्फत निःशुल्क सेवा दिइने जानकारी दिएका हुन् । न्याय पाउनु हरेक नागरिकको अधिकार र अधिकार दिलाउने दायित्व राज्यको भएकाले आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि पीडितले न्याय नपाउने अवस्था नआउने उनले जनाए । सरकारले हरेक जिल्ला र उच्च अदालतमा वैतनिक वकिलको व्यवस्था गरेको छ । वैतनिक वकिलमार्फत पीडितले न्याय प्रक्रियामा जानका लागि कुनै पनि शुल्क लाग्दैन । न्यायमा सबै नागरिकको सहज पहुँच पु¥याउनुपर्नेमा कोइरालाको जोड थियो ।

छलफलमा बोल्दै जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले कमजोर आर्थिक अवस्था भएकाहरूका पीडित राहत कोषमार्फत पनि सहयोग गर्ने गरिएको जानकारी दिए । ‘आर्थिक अवस्था कमजोर भएकै कारण न्याय पाउनबाट वञ्चित भएका पीडितलाई कोषबाट सहयोग गर्न सकिन्छ’ उनले भने ।

त्यसैगरी उच्च अदालत वार एशोसियसनका केन्द्रीय उपाध्यक्ष उत्तम आचार्यले सबै मिलेर पीडितलाई न्याय दिलाउन लाग्नुपर्ने धारणा राखे । उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवत्ता ज्ञानप्रसाद भुसालले न्यायको बाटो सहज बनाउन सधैँ तत्पर रहेको बताए । सबै तहका न्यायिक संस्थाको कार्यालयले निरिक्षण गर्ने र सेवा सुविधालाई चुस्त दुरुस्त बनाउनमा आफू प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

आवाज संस्थाका निशा पौडेलले पीडितले समयैमा न्याय पाएको महशुस हुने गरी न्यायिक संस्थाले काम गर्नुपर्नेमा जोड दिइन् । वास्तविक पीडितले मुद्दा फैसलापछि क्षतिपूर्ति दिलाउनमा अदालतले ढिलाइ गर्ने गरेको भन्दै उनले त्यसमा सुधार गर्न सुझाव दिइन् । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आर्थिक अवस्था कमजोर भएका पीडितलाई इन्सेकले सहयोग उपलब्ध गराउने गरेको जानकारी दिए ।

प्रकाशित मितिः   २ फाल्गुन २०७९, मंगलवार ०५:०२