संविधानको समृद्धिका लागि संशोधन आवश्यक : सभाखुम घर्ती

सभामुख ओनसरी घर्तीले  संविधानको थप समृद्धिका लागि संशोधन आवश्यक रहेकी बताएकी छिन् । बुधवार वीरेन्द्रनगरमा माघे संक्रान्ति मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । संविधानमा केही कुराहरु छुटेकाले त्यसको पूर्ती गर्दै यसलाइ समृद्ध बनाउन आवश्यक रहेको जनाइन ।

संविधान संशोधनले देश टुक्राउँछ भन्नु गलत भएको भन्दै उनले जनतालाइ अधिकार दिनका लागि संशोधन गर्नुपर्ने धारणाा राखिन् ।

संविधान कार्यान्वयनका लागि पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ । ‘थुप्रै ऐन कानुन बनाउनुपर्ने छ । तिन वटा तहको निर्वाचन गर्नुपर्ने छ । त्यो संविधानको कार्यान्वयनसँग जोडिन्छ । त्यसमा हामी जिम्मेवार भएर आफ्नो कर्तव्य पालन गर्नुपर्नेछ । अर्कोतर्फ संविधानमा हामीलाइ संबोधन गरिएन भनेर व्यक्त गरिएको असन्तुष्टिलाई संबोधन गर्नुपर्नेछ । त्यसैका लागि संविधान संशोधन विधेयक संसदमा पेश गरिएको छ’ उनले भनिन् ।

संघीयताको बारेमा गलत भ्रम फैलाइएको गुनासो समेत गरेकी छिन् ।  संघीयताले राज्यलाई जनताको नजिक पुर्याउने भन्दै उनले यसलाई गलत नबुझ्न आग्रह गरिन् ।
संघीयताले देश टुक्राउँछ र विभेद ल्याउँछ भन्दै भ्रम छरिएको उनले बताईन् । संघीयता मन नपराउनेहरुले यसलाई असफल गराउन यस्तो बताएका उनले बताईन् । घर्तीले संघीयतालाई बचाउनका लागि सबै लाग्नुपर्ने पनि जनाईन् ।  संघीयतालाई असफल गराउन खोज्नेहरुविरुद्ध सबै दलहरु एकजुट भएर लड्नुपर्ने घर्तीको भनाई थियो ।

प्रकाशित मितिः   २७ पुष २०७३, बुधबार १७:०५