कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

सुर्खेत: कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । काठमाडौं र सुर्खेतका चिकित्सकहरूको टोलीले आइतवार एक युवामा मिर्गौलाको सफल प्रत्यारोपण गरेका हुन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गरेको हो ।

प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवाको मिर्गौला सफल प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपणको अनुमति पाएको तीन महिनापछि सेवा सुरु गरेको हो ।

अस्पताल प्रशासनले आइतवार पत्रकार सम्मेलन गरेर सेवा विस्तारसम्बन्धी जानकारी दिएको छ । अस्पतालका अनुसार पछिल्लो समय मिर्गौलाका बिरामी बढ्न थालेको भएपनि जटिल अवस्थाका बिरामी भने यहाँ कमै आउने गरेका छन् । ‘विरामीको संख्या बढ्दो क्रममा छ, तर आवश्यक जनशक्ति अभाव हुँदा एक महिनामा एक जना बिरामीको मात्रै मिर्गौला प्रत्यारोपण गरिनेछ,’ निर्देशक खड्काले भने । अहिलेसम्म मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौं नै जानुपर्ने बाध्यता थियो । अब भने मानव अंग प्रत्यारोपणजस्तो जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा लिइएको छ । अस्पताल प्रशासनका अनुसार अबदेखि उक्त सेवा प्रदेश अस्पतालबाट नियमित रूपमा पाइनेछ । अस्पतालले ऐतिहासिक कामको सुरुवात गरेको भन्दै निर्देशक खड्काले यस क्षेत्रका नागरिकका लागि विशिष्ठ चिकित्सा सेवा थपिएकोमा खुसी व्यक्त गरे । सो सेवालाई निरन्तरता दिन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता अभिवृद्धिका तालिममा पठाइने बताइएको छ । प्रत्यारोपण सेवा कर्णालीबाटै नियमित हुने भएपछि यसले यहाँका बिरामीको समय र पैसा बचत हुने चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित मितिः   २३ माघ २०७९, सोमबार ०५:०२